देवदह । रुपन्देहीको देवदह क्षेत्रमा पछिल्लो समय घर तथा मन्दिरमा राखिएका तामाका कलश चोरी गर्ने गिरोह सक्रिय रहेको छ । देवदह क्षेत्रमा निरन्तर रुपमा कलश चोरीको घटना बढ्न थालेपछि प्रहरीले रातको समयमा थप गस्ती र निगरानी बढाउंदै गएको छ ।
प्रहरीले सक्रियता बढाएसंगै घर तथा मन्दिरमा राखिएका कलश चोरी गरेको आरोपमा देवदहबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले दुइवटा चरेस र ३२ वटा तामाको कलशसहित चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको प्रहरी चौकी खैरेनीले जनाएको छ ।
प्रहरी चौकी खैरेनीबाट खटिएको गस्ती टोलिले शनिवार राती १२ बजेको समयमा देवदहको देवीदमारबाट कलश सहित दुई व्यक्तिलाई पक्राउ गरेको देवदह प्रहरी चौकीका प्रमुख,प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिको परिचय प्रहरीले गोप्य राखेको छ ।
त्यस क्षेत्रमा गिरोहकै रुपमा चोरहरू रहेको आशंका भएकाले अनुसन्धान प्रभावित नहोस भन्ने उद्देश्यले पक्राउ परेका व्यक्तिको परिचय गोप्य राखिएको प्रहरी निरीक्षक नेपालीको भनाइ छ । पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बुटवल पठाईएको छ ।
केहि महिना एता रुपन्देही तथा आसपासका क्षेत्रमा घर तथा मन्दिरमा राखिएका कलस, दानपेटीका लगाएतका सामाग्रीहरु चोरी हुँदै आएको थियो । चोरीमा संलग्न अन्यको समेत खोजि कार्य भइरहेको देवदह प्रहरीले जनाएको छ ।