बुटवल । तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको ट्रफि बुटवलमा प्रदर्शन गरिएको छ । धनगढीबाट शुरु भई देशका ठूला शहरहरुमा ट्रफि प्रदर्शन यात्रा अन्तरगत शनिबार बुटवलमा ल्याइएको हो । लुम्बिनी फुटबल क्लबको होम टाउन बुटवलमा आइपुगेको ट्रफीलाई बुटवल उपमहानगरमा प्रदर्शन गरिएको हो ।
चैतको दोस्रो सातादेखि काठमाडौंमा हुन लागेको एनएसएल लिगको ट्रफिसहित बुटवल लुम्बिनीको खेलाडी, टिम म्यानेजर, कोचहरु आज दिउँसो बुटवल उपमहानगरपालिका परिसर पुगेका थिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले खेलकुदको विकासमा पालिका निरन्तर लागेको बताउनुभयो । खेल प्रतियोगिता, खेलाडी सम्मान, पूर्वाधारमा बजेट बिनियोजन गरेको भन्दै उहांले विद्यालय खेलकुद देखि अन्तर्राष्ट्रिय खेलाडी सम्मानका कार्यक्रममा जोड दिएको बताउदै फुटबल खेलमा १ करोड रुपैया बजेट बिनियोजन गरेको जानकारी गराउनुभयो ।
कार्यक्रममा बुटवल लुम्बिनी फुटबल क्लबका टिम कोच पुष्पलाल शर्माले ब्यवसायिक फुटबल प्रतियोगितामार्फत खेल र खेलाडीहरुलाई प्लेटफर्म दिने गरि तेस्रो संस्करणको प्रतियोगिता अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । चैत १३ गतेबाट शुरु हुने प्रतियोगितामा सात टिमले भाग लिनेमा प्रत्येक टिमले अक्सनमार्फत खेलाडी किन्ने काम सकेको उहांले बताउनुभयो । प्रत्येक टिममा ६ विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । बुटवल उपमहानगरपालिका, तिलोत्तमा, भलुही, भैरहवा हुदै लुम्बिनीसम्म ट्रफी प्रर्दशन हुनेछ ।
धनगढीबाट शुरु भएर प्रर्दशन लुम्बिनीपछि चितवन, झापा, पोखरा, ललितपुर, काठमाडौं पुगेर समापन गरिने टिमका टेक्निकल डाईरेक्टर याम गुरुङले बताउनुभयो । प्रतियोगिताको उद्घाटन खेल चैतको १६ गते ललितपुर र काठमाडौंका बिचमा हुने छ । भने समापन बैशाख १३ गते हुनेछ । गतवर्ष प्रतियोगिताको उपाधि ललितपुर एफसीले जितेको थियो ।