बुटवल । साँस्कृतिक विविधतामा एकताको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
विविधतामा एकताको रुपमा रहेको फागू पूर्णीमाको अवसरमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले बिहिबार संघमा आयोजना गरेको होली मिलन कार्यक्रमका सहभागीहरुले विविधतामा एकता सहित र साँस्कृतिक सहिष्णुतामा जोड दिएका हुन् ।
कार्यक्रममा बुटवल उपमहानरापलिकाका नगर प्रमुख खेलराज पाण्डेयले फागुपर्वले सबै नेपालीलाई साँस्कृतिक एकताको सुत्रमा बाध्ने काम गरेको बताउँदै पर्वले आपसी सद्भाव र धार्मिक सहिष्णुता समेत कायम गर्दै आएको बताउनु भयो । उहाँले नेपाली समुदायले मनाउने हरेक पर्वले धार्मिक, साँस्कृतिक र ऐतिहासिक समेत महत्व उजागर गर्दै आएको बताउँदै यसको महत्वलाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने कुुरामा जोड दिनुभयो । बुटवल उपमहानरपालिकाले लामो समय देखि विकास निर्माण सहितका सामाजिक, आर्थिक र धार्मिक क्षेत्रमा समेत धेरै काम गर्दै आएको बताउँदै उहाँले ‘समानता, स्वाभिमान र अवसर ः बस्नयोग्य बुटवल शहर’को सपना साकार पार्नको लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवल उद्योग बाणिज्य संघले संघको स्थापना देखि नै रङ्गहरुको पर्वको रुपमा रहेको फागू पूर्णीमामा कार्यक्रम आयोजना गर्दै आएको स्मरण गर्दै अग्रजहरुले देखेको सपना साकार पार्नको लागि सबैले सहकार्य गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा संघका पुर्वअध्यक्ष अर्जुनमान सैंजुले फागु जस्ता पर्वले धार्मिक एकता समेत कायम गर्दै आएको बताउनु भयो । उहाँले सामाजिक एकताको पर्वको रुपमा रहेको फागू पूर्णीमाले सबैमा सकारात्मक चिन्तन विकास गर्नेमा जोड दिनुभयो । त्यसैगरी बुटवल उपमहानगरपालिका वडा नं. ६ का अध्यक्ष लोकनाथ न्यौपानेले बुटवलको विकासको लागि सबैजनाले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ, रुपन्देही व्यापार संघका सचिव मनहरी बस्याल, उद्योग व्यापार संघ बुटवलका महासचिव यमलाल मरासिनी, बुटवल उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेको धन्यवाद तथा महासचिव मुक्तिप्रसाद अधिकारीको सञ्चालनमा भएको थियो ।