सैनामैना । रूपन्देहीको सैनामैना स्थित मुर्गियामा सम्पन्न प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिता–२०८१ को उपाधी कपिलवस्तु ११ ले चुमेको छ ।
मुर्गिया फूटवल क्लवको आयोजनामा बुधबार सैनामैनाको मुर्गियास्थित रंगशालामा भएको फाईनल खेलमा अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै कपिलवस्तु ११ प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटवल प्रतियोगिताको उपाधी चुम्न सफल भएको हो ।
पहिलो हाफ बराबरी खेलेका दुवै टिम खेलको दोश्रो हाफको १० मिनेटमै कपिलवस्तु ११ का जर्सी नम्बर १० का खेलाडी मोहम्मदले डि बक्समा पाएको उत्कृष्ट अवसरलाई गोलमा परिणत गरेसंगै कपिलबस्तु ११ प्रथम सुनगाभा सैनामैना गोल्डकपको उपाधी बिजेता बन्न सफल भएको हो ।
खेलमा दुवै टोलीले विदेशी खेलाडी मैदान उतारेका थिए । दुवै टिमले गोलका थुप्रै अवसर पाएपनि अन्ततः कपिलवस्तु ११ का खेलाडी मोहम्मदले गोलको अवसरलाई सदुपयोग गर्दै आफ्नो टिमलाई उपाधी बिजेता वनाउन सफल भए । १० दिनसम्म चलेको उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा उपाधी बिजेता कपिलवस्तु ११ ले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने अभिषेक चर्च रजहर नवलपुरले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
प्रतियोगिताको समापन कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागिता रहेको थियो । समापन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले खेल प्रतियोगिता आयोजना गरेर मुर्गिया फुटवल क्लवले खेल क्षेत्रको विकासमा ठूलो योगदान गरेको बताउनुभयो । उहांले सैनामैना ७ मा बन्दै गरेको गौतमबुद्ध स्टेडियम निर्माण गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।