भैरहवा । मेयर आवास कार्यक्रम अन्तरगत रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले धमाधम घर निमार्ण गरिरहेको छ । चालु आर्थिक बर्षमा नगरपालिकाले उक्त कार्यक्रम अन्तरगत ७ परिवारको लागि घर निमार्ण गर्दै छ ।
७ परिवारको लागि ठेक्का सम्झौता भै हाल घर निमार्णको काम तिव्र रुपमा भैरहेको नगरपालिकाका प्रमुख ईन्जिनियर साकार श्रेष्ठले जानकारी दिनुभयो । आवास कार्यक्रमको लागि सिद्धार्थनगर नगरपालिका वडा नं. १ को नौडिहवामा मुन सरिफ, रानीगाँउमा राम सेवक अहिर, वडा नं ४ को दोधारामा जगदिश पाण्डे, एयरपोर्ट नजिक मुराली केवट, वडा नं ६ को दयापथमा किस्मत हरिजन, वडा नं ८ को बसडिलवामा घनश्याम कहार र वडा नं ११ को भुजौलीमा अयोध्या भुँईहारको लागि घर निर्माण कार्य भैरहेको छ ।
यी घरहरु चैत मसान्त भित्र सम्पन्न गरी सम्वन्धित घर धनीलाई हस्तान्तरण गर्ने गरी घर निर्माणको काम तिव्ररुपमा भैरहेको छ । कुल ३७ लाख ६२ हजारको लागतमा केटिएस बिल्डर प्रा.लिले निर्माणको काम गरिरहेको छ । एकतले टिनको छानो भएको घरमा बाथरुम, किचन, बेडरुम सहित एक परिवारलाई बस्न मिल्ने सुविधायुक्त घर बनाएर नगरपालिकाले घर धनीलाई हस्तान्तरण गर्नेछ ।
नगरमा कोही पनि घरबार बिहिन नहुन भन्ने उद्देश्यले बिपन्न परिवारको लागि मेयर आवास कार्यक्रम अन्तरगत सिद्धार्थनगर नगरपालिकाले प्रत्येक बर्ष सूचना प्रकाशित गरी बिपन्न ब्यक्ति छनौट गर्ने गर्दछ । छनौटमा परेका एवं विपन्नलाई निश्चित बजेट बिनियोजन गरी नगरपालिकाले प्रत्येक बर्ष आवास कार्यक्रम सचांलन गर्दै आएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख ईस्तियाक अहमद खानले जानकारी दिनुभयो । ‘नगर भित्र कोही पनि घरबार बिहिन नहोउन र सवैको आप्mनै छानो होस भन्ने उद्देश्यले मेयर आवास कार्यक्रम सचांलन गरिएको उहांले बताउनुभयो । नगरमा कोही पनि घरबार बिहिन नहोउन, सवैको आफ्नै छानो होस भन्ने हाम्रो चाहना र परिकल्पना हो,’ मेयर खाँले भन्नुभयो ।
कार्यक्रम प्रभावकारी देखिएकाले यसलाई नगरपालिकाले प्रत्येक बर्ष निरन्तरता समेत दिदै आएको छ । बजेट अभावका कारण एकै पटकमा धेरैलाई समेट्न नसकिएकाले आगामी दिनमा बजेट बढाएर कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्य नगरपालिकाको रहेको मेयर खाँले बताउनुभयो ।

