भैरहवा । तिरुपति क्रिकेट क्लब भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बुधबार भएको ‘ए’ डिभिजनको खेलमा सैनामैना क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै तिरुपति सेमिफाइनल पुगेको हो ।
सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सैनामैनाले निर्धारित ४३ ओभरमा २२ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय १ रन बनायो । उसका लागि ईश्वर क्षेत्रीले २८, विक्रम गौतमले १९ र प्रदिप सुवेदीले १० रन बनाए पनि अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । तिरुपतिका सन्दिप मौर्यले ६ ओभर ५ बल बलिङ गर्दै २७ रन खर्चेर ६ विकेट हात पारे । यस्तै, सुलभ ढुँगानाले २ तथा रुपेश कुर्मीले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको तिरुपतिले २० ओभर ४ बलमा ५ विकेटको नोक्सानीका १ सय २ रन बनाउँदै लक्ष्य भेट्टाई सेमिफाइनल यात्रा पक्का गर्यो । उसको जितमा एजाजुल हकले २९ तथा कमल विक र तुलबहादुर थापाले समान १५–१५ रन प्रहार गरे । बलिङमा सैनामैनाका किरण भट्टराई, ईश्वर क्षेत्री, गोपाल शर्मा, प्रदिप सुवेदी र विक्रम गौतमले समान १–१ विकेट लिए । खेलमा तिरुपतिका सन्दिप मौर्य प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिनुभयो ।