बुटवल । रुपन्देहीको तिलोत्तमा २ तपाहमा रहेको सिद्देश्वर महादेव तथा राधाकृष्ण मन्दिरको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । यस क्षेत्रको सबै भन्दा पुरानो मन्दिरको शनिवार विशेष कार्यक्रमको आयोजना गरी वार्षिक कसाधारण सभा सम्पन्न गरिएको हो ।
साधारण सभाको बुटवल नयांगाउस्थित मुक्तिनाथ धामका गुरु स्वामी लोकानन्दले स्वस्ति वाचन गरी उद्घाटन गर्नुभएको हो । उक्त वार्षिक साधारण सभाका प्रमुख अतिथिसमेत रहेका धार्मिक गुरु स्वामी लोकानन्दले धर्म संस्कृतिको माध्यमबाट समाजमा सद्भाव तथा एकता कायम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष डिलबहादुर भट्टराइले धर्म, संस्कृति मानिसको आस्थासंग जोडिएकाले धर्म, संस्कृति जगेर्ना गर्न र मन्दिर व्यवस्थापनका लागि सहयोग पुराउने प्रतिवद्दता जनाउनुभयो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खिलबहादुर पौडेलले मन्दिरमा धार्मिक भक्तजनहरुको संख्या दिन प्रतिदिन बढ्दै गएकाले मन्दिर व्यवस्थापन गरिने बताउनुभयो। हिन्दु धार्मिक भक्तजनहरुको आस्थाको केन्द्र मन्दिरको पुनः निर्माण गरिएको र अझै निर्माण गरी थप व्यवस्थित गरिने र त्यसका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताउंदै सहयोग गर्न अध्यक्ष पौडेलले आग्रह गर्नुभयो ।
समाजसेवी काशिराम काफ्लेले परम्परादेखिको हाम्रो धर्म, संस्कृति प्रति मानिसलाई जागरुक बनाउन आवश्यक रहेको बताउंदै समाजमा आपसी सद्भाव कायम गर्नका लागि धर्म, संस्कृतिका आस्था राख्नेहरुको भावना बुझ्न जरुरी रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा सिद्देश्वर महादेव तथा राधाकृष्ण मन्दिर व्यवस्थापन समिति उपाध्यक्ष कमला पन्थी, दुर्गा मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष रुपा केसी, देवस्थल मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष यदुनाथ पाण्डेय, क्या. नरबहादुर कार्की लगायतले बोल्दै धर्म, संस्कृति जगेर्ना गर्नका लागि मन्दिरमा धार्मिक कार्यक्रमहरुलाई थप व्यवस्थित गरी भक्तजनलाई थप आकर्षित गराउनका लागि होमन अखण्ड कार्यक्रमलाई सधैभर बनाउन सुझाव दिनुभयो ।
कार्यक्रममा सहभागी हुने भक्तजनहरुलाइ सुविधा दिनका लागि मन्दिरलाई अझै व्यवस्थित गरिने मन्दिर पुनः निर्माण समितिका अध्यक्ष लोकनाथ ज्ञवालीले बताउनुभयो ।
उक्त वार्षिक साधारण सभाको अवसरमा मन्दिरमा धार्मिक कार्यक्रम सञ्चालन गर्न, मन्दिर पुनः निर्माण लगायतका काममा सहयोग पुराउने दुई दर्जन बढी सहयोगीहरुलाई खादा ओडाएर सम्मान गरिएको थियो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खिलबहादुर पौडेलको अध्यक्षता र सचिव प्रेम प्रसाद भुसालको सञ्चालनमा कार्यक्रम भएको थियो ।