बुटवल । रुपन्देहीको तिलोत्तमा ४ मा संचालित ज्येष्ठ नागरिक मिलन केन्द्रको चौथो वार्षिक साधारण सभामा मानविय सेवा संचालन गर्दै आएको संस्थामा ज्येष्ठ नागरिकलाई ओसार पसार गर्नकालागि सवारी साधनको अभाव रहेको आयोजकहरुले गुनासो गरेका छन् ।
विसं २०८० साल कार्तिक १३ गते देखि संस्थाले संचालन गरेको ज्येष्ठ नागरिककालागि दिवा सेवा कार्यक्रम निकै प्रभावकारी रहेको बताईएको छ । मिलन केन्द्र दैनिक संचालनकालागि आर्थिक अभाव, कार्यालय सम्म पुग्नकालागि सडकको राम्रो व्यवस्था नहुनु, गाडी पार्किङ्गको अभाव रहेको आयोजकको गुनासो छ ।
३० जनावाट सुरु गरिएको दिवा सेवामा हाल ८० जना पुगेको बताउदै केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले ज्येष्ठ नागरिकको आकर्षण बढदै गएको र उनीहरुलाई ल्याउने लैजाने सुबिधा उपलब्ध गराउन मारुती भ्यानवाट सेवा प्रदान गरिरहेता पनि सो सवारी साधन सानो भएकाले ठुलो बसको आवश्यकता रहेको बताउनु भयो । ज्येष्ठ नागरिकहरुलाई हरेक दिन विहान ११ वजे ल्याउने र ४ वजेसम्म विभिन्न सातवटा सत्रमा विभाजन गरी सेवा प्रदानगर्दै आएको अध्यक्ष पाण्डेले बताउनु भयो ।
संस्थालाई राम्रोसंग संचालन गर्नकालागि ५ करोडको अक्षयकोष जरुरी रहेको मा हाल संस्थामा केवल १७ लाख रुपैयाँ मात्र रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राज्यले गर्नुपर्ने काम ज्येष्ठ नागरिक मिलन केन्द्रले गरेकोमा सराहना व्यक्तगर्दै यसरी मानविय सेवामा लागेका संस्थाहरुलाई हरेक क्षेत्रवाट सहयोग गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा गुल्मेली सम्र्पक समाजका अध्यक्ष डा. नारायण पन्थ, श्रृङ्गेश्वर धामका अध्यक्ष ऋषिराम भण्डारी, तिलोत्तमा ४ का वडा अध्यक्ष हरि बहादुर क्षेत्री, संस्थाका सल्लाहकार टीकाराम घिमिरे, आजिवन सदस्य हरि प्रसाद पौडेल, ज्येष्ठ नागरिक भोजराज खनाल, नर्मदा अर्याल, आर्ट अफ लिभिङकी भारती जोशी ,ओशो प्रशिक्षक महानामी, छोरी शिक्षाकी हिरा भुसाल लगायतले ज्येष्ठ नागरिक मिलन केन्द्रले संचालन गरेका कार्यक्रम नेपालमै नमूना योग्य भएकाले यस संस्थाको कार्यक्रमलाई सबैको सहयोगको आवश्यक्ता औल्याउनुभयो । संस्थाकी उपाध्यक्ष ओमी पुनको स्वागत, महासचिव दया भण्डारीको संचालनमा भएको कार्यक्रममा कोषाध्यक्ष मधुसुुदन पाण्डेले प्रस्तुतगर्नु भएको आयव्ययको आर्थिक प्रतिवेदन साधारण सभाले पारित गरेको छ ।