बुटवल । रुपन्देही प्रहरीले करिव पचास लाख मूल्य बराबरको सुन सहित दुई जनालाई पक्राउ गरेको छ । राजश्व छली गरी अवैध रुपमा सुन ल्याएको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रही कार्यालय बुटवल रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
यही कात्तिक १२ गते राती १० बजेको समयमा बुटवल उप–महानगरपालिका वडा नं.८ रामनगर स्थित पुर्व– पश्चिम राजमार्गमा कृष्णनगर कपिलवस्तुबाट काठमाण्डौ तर्फ आउँदै गरेको लु २ ख ६५४२ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा अन्दाजी मूल्य ४९ लाख ५४ हजार ८१७.५ रुपैयाँ वरावरको पहेलो रङको सुन जस्तो देखिने बिस्कुट आकारको धातु थान २ (तौल २९ तोला ५८.१ लाल (३४५.०४ ग्राम) वरामद गरी दुईजनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. ८ बस्ने बर्ष ३३ को अकबर अलि मिया र जिल्ला कपिलबस्तु बाणगंगा नगरपालिका वडा नं.७ बस्ने बर्ष ३७ को अर्घाखाँची सुनचादी पसलका संचालक सन्तोष सुनार रहेका छन् ।
पक्राउ परेका दुबै जनालाई सुन सहित थप अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाईएको प्रहरीले जनाएको छ ।