बुटवल । होटल ब्यवसाय संगै धर्म संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै आईरहेको होटल पौवाले यस वर्षको बडादशैँको अवसरमा सराय नाच प्रस्तुत गर्ने भएको छ । होटल पौवाको तिलोत्तमा–३ योगिकुटीमा रहेको शाखाले आगामी कार्तिक २ गते सरायँनाच प्रस्तुत गर्ने भएको हो ।
दशैंका बेला पश्चिम नेपालका केही भागमा गरिने मनोरञ्जनात्मक नाचको रुपमा रहेको सरायँबारे नयाँ पुस्तालाई समेत जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको होटल पौवाका ब्राण्डिङ प्रमुख बिष्णु भण्डारीले जानकारी दिनुभयो । भण्डारीका अनुसार यस वर्ष गुल्मीको छत्रकोट गाउँपालिका–१ हुँगाको टोलीद्वारा सराय नाच प्रस्तुत गरिने छ ।
विशेष गरी लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, प्यूठान, कपिलवस्तु, रुपन्देही, दाङ तथा गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा तथा अन्य विभिन्न जिल्लाहरुमा कोट तथा शक्तिपिठहरूमा नाचिने सराय नाचको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्न सकिने उद्देश्यसाथ विगत वर्षदेखिनै होटल पौवाले सराय नाच लगायतका सांस्कृतिक कार्यक्रम गर्दै आएको ब्राण्डिङ प्रमुख भण्डारीले जानकारी गराउनु भयो ।
हिन्दु परम्परा अनुसार हरेक वर्षको बडादशैँका बेला एकादशीदेखि पूर्णिमासम्म सरायँ नाच्ने प्रचलन रहेपनि नयाँ पुस्तामा यसको महत्व हराउँदै गएकाले यसको जगेर्नाका लागि होटल पौवाले विगतका वर्षमा जस्तै यस वर्ष पनि सराय नाच कार्यक्रम आयोजना गर्न लागिएको होटल पौवा बुटवल शाखाका प्रबन्धक प्रकाश पाठकले जानकारी गराउनु भयो ।
सोमबार होटल पौवाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रम बारे प्रकाश पार्दै शाखा प्रवन्ध पाठकले कार्तिक २ गते आयोजना गरिने सराय नाचसँगै विभिन्न नेपाली परम्पराका परिकारहरु समेत राखिने उल्लेख गर्नुभयो । पाठकका अनुसार सेलरोटी, चुकौनी, गुन्द्रुकको अचार, काक्राको अचार लगायतका कम्तिमा ५० रुपैयाँदेखिका परिकारहरुको स्वाद दर्शकले लिन पाउने छन् । विभिन्न परिकारका २० बढी स्टलहरुसहित आयोजना गरिने सराय नाचको प्रस्तुतिमा प्रवेश भने निःशुल्क गरिने पाठकले बताउनु भयो ।
यसैबीच होटल पौवाले यस वर्षको बडादशैँको अवसरमा आफ्ना विभिन्न ७ वटा शाखामा लिङ्गे पिङ राखेर होटलमा आउने अतिथिहरुलाई मनोरञ्जन समेत प्रदान गर्दै आएको छ । नयाँ पुस्तालाई पुरानो परम्पराको पहिचान दिन भैरहवा, बुटवल र भालुवाङ लगायत ७ वटा शाखामा लिङ्गे पिङको व्यवस्था गरिएको प्रवन्धक पाठकले जानकारी दिनुभयो ।
‘जहाबाट आतिथ्यताको सुरुवात हुन्छ’–भन्ने मूल नारासहित नेपाली हस्पिटालिटी सहितको सेवा दिने उद्देश्यले देशभर आफ्नो शाखा बिस्तारलाई समेत तिब्रता दिँदै आएको होटल पौवाले लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा होटलको शाखा बिस्तार गरेको छ । हालसम्म देशभरीका १५ स्थानबाट होटल पौवाले सेवा दिइरहेको छ । कर्णाली प्रदेशको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा र नवलपुर, खोटाङको हलेसी, बाग्मती प्रदेशको सिन्धुली तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा संचालनमा रहेका छन् । यसैगरी बागमती प्रदेशकै चितवनको भरतपुरमा र लुम्बिनी प्रदेशको औद्योगिक राजधानी बाँकेको नेपालगन्जमा शाखा बिस्तार गरी शिघ्र संचालनको तयारीमा रहेको छ ।