बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोख बहादुर महराले भोली आइतबार पद तथा गोपनीयताको सपथ लिनुहुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयले आइतबार दिउँसो १ः४५ बजे मुख्यमन्त्री महरालाई सपथ गराउने गरी तयारी गरेको छ ।
लुम्बिनी प्रदेशमा नयाँ सत्ता समीकरणसँगै यसअघि नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री रहेका डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि महरा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरालाई एमाले तथा साना दलसहित ४४ जना सदस्यको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गरिएको थियो । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ अनुसार महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
सपथ ग्रहण तथा मन्त्रीपरिषद गठनको गृहकार्यसंगै मुख्यमन्त्री महरा शनिबार दिनभरदेखि नै आन्तरिक तथा बाह्य छलफलमा व्यस्त रहनुभएको छ । शनिबार साँझसम्म पार्टी भित्र आन्तरिक छलफलमा रहनुभएका महराले सरकारमा सहभागी हुने साना दलहरुसँग पनि छलफल गर्नुभएको छ । सत्ता साझेदार ठूलो दल नेकपा एमालेसँग भने आइतबार विहान मात्र छलफलका लागि समय तोकिएको छ ।
मुख्यमन्त्री महरा मन्त्रीपरिषद गठनको गृहकार्यमा रहे पनि सत्ता साझेदार दलहरुका विचमा मन्त्रालयको संख्या बाँडफांडको बारेमा मोटामोटी सहमती जुटीसकेको बताईएको छ । स्रोतका अनुसार माओवादी केन्द्रले मुख्यमन्त्री सहित २ मन्त्रालय, एमालेले सबैभन्दा ठूलो दलको हैसियतले ५ मन्त्रालय, जनता समाजवादी पार्टी जसपाले २ तथा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले पालैपालो नेतृत्व गर्नेगरी एक मन्त्रालय लिने सहमती भएको छ ।