लुम्बिनी । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई कुटनितिक शक्तिका रुपमा ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ ।
परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर कर्प नेपालको दुई दिने सम्मेलनको अन्तिम दिन शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीको उपस्थितिमा विभिन्न देशका गैरआवासीय राजदुत र महावाणिज्य दूतहरुले बुद्धको शान्ति र अहिंसाको मार्गलाई कुटनीतिक शक्तिका रुपमा प्रयोग गर्दै शान्ति र समृद्धिको नेतृत्व गर्न सकिने सन्देश दिएका हुन् ।
मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको विश्वमा विभिन्न प्रकारको द्वन्द्धहरु देखा परेकाले त्यसका लागि बुद्धभूमि नेपालबाट पहल गर्न सकिने बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले बुद्धको शिक्षा बैज्ञानिक र व्यवहारिक रहेको बताउँदै लुम्बिनी सम्मेलनले विश्वमा शान्ति, करुणा र अहिंसाको सन्देश दिन सफल हुनुपर्ने बताउनुभयो ।
बुद्धले आफैलाई चिन्नुपर्छ भनेर दिएको शिक्षा आजको विश्वमा झन बढि अपरिहार्य बन्दै गएको उहांले बताउनुभयो । उहांले बुद्ध दर्शनमा सबैभन्दा महत्वपूर्ण पाटोका रूपमा ध्यान (मेडिटेशन ) रहेकाले यसलाई विश्वव्यापी बनाउनुपर्नेमा उहांले जोड दिनुभयो । उहांले मन केन्द्रीत गरिने ध्यान बौद्व धर्ममा मात्रै सिमित नरहेको उल्लेख गर्दै भन्नुभयो–‘तपाईं क्रिश्चियन हुनुहोस, मुस्लिम वा हिन्दु, तर मेडिटेशन सबैले गर्दा मन शान्ति हुन्छ ।’ उहांले बुद्ध जन्मस्थल लुम्बिनी जुनसुकै धर्म मान्नेहरूले अंगिकार गर्न सकिने बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले खुशि, शान्ति र सन्तुष्टिका साथ बाच्नका लागि बुद्ध शिक्षा महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । बुद्धले जबसम्म परीक्षण गरेर सत्य स्थापित हुदैन तबसम्म विश्वास नगर भनेर भनेको सन्दर्भ उल्लेख गर्दै उहांले बुद्धजन्मस्थलबाट विश्वमा शान्ति र समृद्धिको सन्देश दिन पाउँदा निकै खुशी लागेको बताउनुभयो ।
कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री हितबहादुर तामाङले बुद्धजन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर गरिएको लुम्बिनी सम्मेलनले विश्वमा बौद्ध शिक्षा र यसको सन्देश पु¥याउने विश्वास लिनुभयो । उहांले लुम्बिनी गुरुयोजनाका बाँकी काम र बृहत्तर लुम्बिनीको विकास प्राथमिकताका साथ गरिने बताउनु भयो ।
यस्तै लुम्बिनीमा आएका विभिन्न देशका गैरआवासिय राजदूत र महावाणिज्यदूतहरुलाई स्वागत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले बौद्ध दर्शनले विश्वमा शान्ति र अहिंसा कायम गर्न महत्वपूर्ण योगदान गर्ने बताउनुभयो । उहांले विश्व शान्ति प्रवद्र्धनमा गर्ने र विश्वमा देखिएको द्धन्द्ध समाधान गरी सहिष्णुता कायम गर्ने बताउनुभयो । उपाध्यक्ष डा. लामाले बुद्धका शिक्षाहरु विश्वभर फैलाउन सक्दा शान्ति, करुणा, सदभाव कायम गर्न सकिने भएकाले यसको सन्देश प्रचार गर्न आग्रह गर्नुभयो ।
विहिबारदेखि शुरु भएको सम्मेलनमा विभिन्न १९ देशका गैरआवासीय राजदूत, विभिन्न देशका वाणिज्यदूतहरु र सरकारी अधिकारीहरु बुद्धजन्मस्थल लुम्बिनीमै आएर बुद्व, शान्ति र समृद्विका लागि एकताबद्ध भई सन्देश दिएका हुन । बुद्धको पवित्र जन्मस्थलमा आएर सम्मेलनमार्फत विश्वभमा बढ्दै गएको द्वन्द्ध र अहिंसालाई त्याग्दै शान्तिबाटै समृद्धिको बाटोमा जान महत्वपूर्ण सन्देश दिन सकिएको आयोजक अनरी कन्सुलर कर्प नेपालका डिन विष्णु कुमार अग्रवालले बताउनुभयो ।
मायादेवीमा भएको कार्यक्रममा इन्डोनेशियाका राजदुत एनआर हेरु, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बोलेका थिए । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, लुम्बिनी विकास कोषका पदाधिकारी,बोर्ड सदस्य, पर्यटन व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।
सम्मेलन अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस,आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू सहभागि भएका हुन ।
बिहीबार दिउँसो लुम्बिनी आएका उनीहरू बुटवल स्थित लुम्बिनी केवल कारको भ्रमण र शुक्रबार बुद्धजन्मस्थल लुम्बिनी आएर सम्मेलन सकाएका हुन । नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुति गरिएको सम्मेलनका सहसंयोजक चन्द्र ढकालले बताउनुभयो ।
शुक्रबार लुम्बिनी पुगेका मन्त्री, गैरआवासिय राजदुत र वाणिज्य दूतहरुलाई लुम्बिनी विकास कोषले स्वागत गरेको थियो । यस्तै लुम्बिनीमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहित विभिन्न देशका गैरआवासिय राजदुतहरुको उपस्थितीमा सिता अशोकको बृक्षारोपण समेत गरिएको छ ।