बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा ५ हजार जनाको सहभागितामा विराट चक्रविज्ञान हुने भएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गर्ने गरि लुम्बिनी स्थित अन्तर्राष्ट्रिय ध्यानकक्षमा नेपालसहित विभिन्न १५ मुलुकका नागरिकहरुको उपस्थितिमा ७ दिनसम्म विभिन्न ५ वटा उर्जा ध्यानसहितको प्रयोगात्मक कक्षा सञ्चालनको तयारी तीब्र पारिएको छ ।
जीव विज्ञान परिषदको आयोजनामा यही चैत्र १७ गतेदेखि २३ गतेसम्म हुने विराट चक्र विज्ञानको तयारीलाई तीब्र पारिएको जीव विज्ञान परिषद लुम्बिनीका संयोजक केशव खनालले जानकारी दिनुभयो ।
विश्वमै पहिलो पटक यति ठूलो संख्यामा ध्यानको कार्यक्रम आयोजना गर्न लागिएको र कार्यक्रमलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा समेत दर्ता गरिने उहाँको भनाइ छ । यस प्रकारको कार्यक्रम यसअघि अस्ट्रेलियामा आयोजना हुँदा १४७१ जना उपस्थित भई ३ दिनसम्म मात्रै आयोजना भएको उल्लेख गर्दै उहाँले यो नै पहिलो र ठूलो कार्यक्रम हुने दाबी गर्नुभयो । उहांका अनुसार भगवान गौतम बुद्धको ‘अप्प दिपो भव’ अर्थात तिमी आफ्नो प्रकाश आफै बन भन्ने स्व–जागरणको उपदेशलाई सार्थक बनाउन कार्यक्रम आयोजना गरिएको हो ।
व्यक्ति भित्र नैसर्गिक रुपमा रहेका स्वास्थ्य सुख, आत्मविश्वास, प्रेम, ज्ञान, संकल्प र आनन्दको अद्भुत क्षमता तथा सम्भावनालाई उजागर गरी सुखी, शान्त र समृद्ध राष्ट्रको आधार तयार पार्न यसले सहयोग गर्ने दाबी उहांले गर्नुभयो । जीवन बिज्ञानका मानव विकास विशेषज्ञ गुरु एलपी भानु शर्मा र रमेश नेपाल लगायतले ध्यान गराउनुहुनेछ ।
सो कार्यक्रमबाट विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्धको जन्मस्थल र उहांले दिएका ध्यानको शिक्षालाई सामूहिक रुपमा विश्वमाझ फैल्याएर नेपाललाई एक उत्कृष्ट आध्यात्मिक पर्यटकीय गन्तव्यस्थल बनाउन सहयोग पुग्ने दाबी गरिएको छ ।
बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परिषदका सूचना तथा सञ्चार विभाग परिषद अध्यक्ष दुर्गाबहादुर क्षेत्रीले कार्यक्रममा देशका विभिन्न सरकारी निकायका प्रतिनिधि तथा अनुयायीहरुलाई निमन्त्रणा गरिएको बताउनुभयो । आफ्नो क्षमताको बिकास गर्न चाहने उद्योगी, व्यवसायी, व्यापारी, निजी क्षेत्रका कर्मचारी, साष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, समाजसेवी तथा राजनीतिक कर्मी लगायत समग्र क्षेत्रका व्यक्तिहरुलाई आमन्त्रण गरिएको उहांले बताउनुभयो ।
परिषदका शिक्षा बिकास संयोजक हरि पोखरेलका अनुसार ज्ञानमा सहभागीहरुलाई दैनिक ३ छाक भोजनको व्यवस्था आयोजकले गर्ने भए पनि आवासका लागि सहभागि स्वयम्ले नै व्यवस्था गर्नुपर्ने छ ।
लुम्बिनीमा आयोजना गरिएको यस कार्यक्रमले यस क्षेत्रको पर्यटन बिकास तथा आर्थिक बिकासमा समेत टेवा पुग्ने आयोजकले विश्वास लिएको छ । विराट चक्रविज्ञानमा सहभागि हुने व्यक्तिको आवासका लागि लुम्बिनी, भैरहवा तथा बुटवलसम्मका होटल तथा गेष्टहाउसहरुमा व्यवस्था मिलाइने बताइएको छ । यसैगरी लुम्बिनीदेखि बुटवल तथा भैरहवासम्म आउनका लागि अयोजकले नै निशुल्क यातायातको व्यवस्था गर्ने परिषदकी नवलपरासी संयोजक इन्दिरा विश्वकर्माले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी हुनका लागि रेजिष्ट्रेशनका लागि प्रतिव्यक्ति १० हजार शुल्क उठाइएको छ ।
उठेको शुल्क एक साता सम्म ज्ञानमा सहभागीहरुलाई भोजन तथा हलमा कार्पेटिङ, साउण्ड तथा डिजिटल डिसप्ले लगायतको व्यवस्थापनमा खर्च गरिने आयोजकको भनाइ छ । ‘बुद्धको ज्ञान लुम्बिनीमा ध्यान’ भन्ने नाराका साथमा हुने सो कार्यक्रममा सहभागि हुन आयोजकले आग्रह गरेका छन् ।