बुटवल । विदेशी सहयोगी संस्था तथा दातृ निकायहरुले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शिशु तथा मातृ स्वास्थ्य कार्यक्रमका लागि सहयोग बढाउने प्रतिवद्धता जनाएका छन् ।
अस्पतालले पछिल्लो समय अस्पतालमा मातृ तथा शिशु स्वास्थ्य र पोषण सुरक्षणको क्षेत्रमा गरेका गतिविधिलाई मुल्याङ्कन गर्दै विदेशी सहयोगी संस्था तथा दातृ निकायहरुले थप सहयोगको प्रतिवद्धता जनाएका हुन् ।
नेपालका लागि बेलायती राजदुत कार्यालयका प्रतिनिधि पिप्पा वर्ड, विश्व बैंकका प्रतिनिधि फरिस हेडेड जेरोस, स्वीस डेभलप्मेन्ट कोअप्रेशनका प्रतिनिधि डेनिल म्याली, एशिया विकास बैंकका प्रतिनिधि लगायतले अस्पतालको निरीक्षणपछि आफूहरु सहयोग बढाउन इच्छुक रहेको बताउनु भएको हो ।
अस्पतालमा रहेको प्रसुती कक्ष, मेटामेटिक, लेवर वार्ड, एनआईसीयू, एसएनसीयू, पोषण पुनःस्थापना केन्द्र, ओसिएमसी कक्ष लगायतको निरीक्षणपछि उनीहरुले अस्पतालको प्रशंसा व्यक्त गर्दै सयहयोगको हात बढाउन आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् । विशेष गरी शिशुको पोषण तथा मातृ मृत्युदरलाई कम गर्नका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने सवालमा हातेमालो गर्न सधै तयार रहेको प्रतिवद्धता उनीहरुले ब्यक्त गरेका छन् । उनीहरुले लुम्बिनी प्रादेशिक अस्पतालले पछिल्लो समय गरेका सुधार तथा सेवाबाट आफूहरु प्रभावित भएको बताए ।
प्रतिनिधिहरुसँगको अन्तत्र्रिmयामा बोल्दै अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सुदर्शन थापाले विशेष गरी प्रसुती सेवा तथा पोषण पुनःस्थापना केन्द्रमा उल्लेख्य सुधार ल्याउन सफल भएको जानकारी गराउनु भयो । न्यूनतम सेवा मुल्याङ्कन मापदण्डमा समेत ८८ प्रतिशत अंक ल्याएर नेपालकै उत्कृष्ट बन्न सफल भएको जानकारी गराउँदै मेसु थापाले स्वास्थ्य सेवा सुधारका लागि सहयोगी निकाय तथा संस्थाहरुसँग हातेमालो गर्न आफूहरु सधै तयार रहेको जानकारी गराउनु भयो ।
अस्पताल निरीक्षणको अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य सेवाको सुधारमा उपमहानगरबाट समेत आवश्यक पहल तथा सहयोगको प्रतिवद्धता ब्यक्त गर्नुभयो । यसैगरी उपमहानगर अन्तरगत रहेको स्वास्थ्य महाशाखा तथा स्वास्थ्यकेन्द्रहरुबाट भएका क्रियाकलाप बारे विदेशी सहयोगी संस्था तथा दातृ निकायहरुलाई प्रमुख पाण्डेले जानकारी गराउनु भएको थियो ।