बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुद्ध भूमि लुम्बिनीमा यही फागुन २८ गतेदेखि हुने शिखर सम्मेलन लुम्बिनीको ‘ब्राण्डिङ’ गर्ने उद्देश्यले आयोजना गरिएको दाबी गर्नुभएको छ ।
सम्मेलनबारे राजनीतिक दल तथा विभिन्न क्षेत्रबाट भएको टिका–टिप्पणी बारे प्रष्ट् पार्दै मुख्यमन्त्री चौधरीले लुम्बिनीको प्रचारप्रसार बाहेक शिखर सम्मेलनको अन्य कुनै पनि गलत उद्देश्य नरहेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री चौधरीले आज(शनिबार) बुटवलमा पत्रकार सम्मेलन गरी लुम्बिनीमा हुने शिखर सम्मेलनबाट कुनैपनि छिमेकी राष्ट्रलाई असर पर्ने गतिविधि हुन नदिने प्रतिवद्धता जनाउनु भयो । ‘हामी पञ्चशिलको सिद्धान्त अनुसार चल्छौं, कुनै पनि छिमेकी राष्ट्रलाई असर गर्ने हाम्रो उद्देश्य होइन ।’मुख्यमन्त्री चौधरीले भन्नुभयो–‘शान्ति भूमि लुम्बिनीलाई विश्वसामु परिचित गराउन ‘बालबालिका, विकास र शान्तिको लौरियट्स एण्ड लिडर्स चौथो शिखर सम्मेलन’ आयोजना गरिएको हो ।’
प्रदेश सरकारको आयोजनामा यही फागुन २८ र २९ गते बुद्धभूमि लुम्बिनीमा शिखर सम्मेलन हुन लागेको हो । मुख्यमन्त्री चौधरीले सम्मेलनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय रूपमा बुद्धका करुणा, अहिंसा र शान्तिका सन्देश प्रचार प्रसारमा ठूलो टेवा पुर्याउने र सम्मेलनबाट लुम्बिनीको गरिमा थप बढ्ने विश्वास लिएको बताउनु भयो ।
सम्मेलनका लागि ६ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइए पनि विभिन्न दातृ निकायबाट सहयोग जुटेपछि सरकारको २ करोड रुपैयाँभन्दा बढी खर्च नहुने मुख्यमन्त्री चौधरीले बताउनु भयो । वजेटमा यो कार्यक्रमका लागि ६ करोड ५० लाख वजेटमै विनियोजन भएको छ भने मुख्यमन्त्री कार्यालयमार्फत ६० लाख खर्च गरिंदैछ । सम्मेलनबारे नीति तथा कार्यक्रम र वजेट प्रदेश सभाबाटै पारित भएकाले सभामुख र सांसदहरुलाई जानकारी छैन भन्न नमिल्ने मुख्यमन्त्री चौधरीले तर्क गर्नुभयो । उहांले शिखर सम्मेलनको मिति १० मार्च तय गरिनुलाई दलाई लामासंग नजोड्न आग्रह गर्दै नेपालको परराष्ट्र नीति अनुरुप असंलग्नता र पन्चशीलको सिद्धान्त अनुरुप सम्मेलन तयारी भएको दावी गर्नुभयो ।
२९ गते बिहान ८ बजे बुद्ध जन्मेको ठाउंबाट कार्यक्रम शुरु भई पैदल हिंडेर मायादेवी मन्दिरसम्म जाने,त्यहां दर्शनपछि र लुम्बिनीकै सम्मेलन हलमा प्रधानमन्त्री प्रचण्डले सम्मेलन उद्घाटन गर्ने मुख्यमन्त्री चौधरीले जानकारी दिनुभयो ।
सम्मेलनमा सहभागी ३ सय जनालाई १० समूहमा बाडेर समूहगत छलफल गरी २९ गते लुम्बिनी घोषणापत्र जारी र शान्तिदीपमा दीप प्रज्ज्वलन गरेर समापन गरिने उहांले बताउनु भयो । सम्मेलनमा आएका नोबेल पुरस्कार विजेतालाई अलग अलग समूहमा कसैलाई बर्दिया राष्ट्रिय निकुन्ज, कसैलाई स्वर्गद्वारी र कसैलाई पाल्पाको हिल स्टेशनमा भ्रमण गराउने कार्यक्रम रहेको मुख्यमन्त्री चौधरीले बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेयले सम्मेलनले बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचबिखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्दै लुम्बिनीमा लगानी प्रवद्र्धनको वातावरण बनाउने विश्वास रहेको बताउनु भयो । ‘बालबालिकाको क्षेत्रमा शान्ति सद्भाव र करुणाको सन्देश र लुम्बिनी विकासका लागि विश्वको ध्यान आकर्षित हुनेछ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।
सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल शान्ति पुरस्कार विजेताहरू लुम्बिनी आउने निश्चित भइसकेको छ । सम्मेलनमा ३०० जना विज्ञहरू सहभागी हुनेछन् । सम्मेलनमा विभिन्न देशका २०० भन्दा बढी विकास साझेदार सहभागी हुने निश्चित भइसकेको छ । सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेताहरू टिमोर लेस्टेका राष्ट्रपति जोजे मामोस ओर्टा (१७९६), जोडी विलयम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेह्म बोवी र टुवाको कर्मयान सहभागी हुने छन् । त्यस्तैगरी सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग क्वार्टेटका संस्थापक मध्येका अब्देससतार वेन मौसा र विदेद बुसामावुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सनल (२०१३) पनि लुम्बिनी आउनेछन् ।
त्यस्तैगरी शिखर सम्मेलनमा अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङ्गो लगायतको पनि सहभागिता रहने निश्चित भएको छ ।
नोबेल पुरस्कार विजेताहरूलाई पाल्पा, अर्घाखाँचीको सुपादेउराली, प्यूठानको स्वगद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जसमेत लैजाने तयारी छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने छ । १० वटा कार्यपत्र समेत प्रस्तुत हुने सम्मेलन मायादेवी मन्दिर परिसरबाट घोषणापत्र जारी गर्दै सकिने छ ।