भैरहवा । अहिले जस्तै आर्थिक अवस्था रहिरहने हो भने मालवाहक ट्रकहरु चल्न नसक्ने ट्रक व्यवसायीहरुले बताएका छन् । शुक्रबार लुम्बिनी ट्रक यातायात व्यवसायी संघ रुपन्देहीको १२ औं वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले अहिलेको विषम परिस्थितिमा ट्रक व्यवसायीले जिविकोपार्जन गर्न कठिन भएको बताएका हुन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले ट्रक व्यवसायमा गरेको लगानी असुरक्षित रहेको बताउँदै संस्था मर्ज गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयो । उहांले भैरहवा भन्सार कार्यालयबाट दैनिक १३० ओटा भारतीय नमवर प्लेटका मालवाहक गाडी नेपाल प्रवेश गर्ने गरेको बताउँदै ८० ओटा गाडि पोल्टि(अनलोड) गर्न मिल्ने भएपनि ती गाडीहरु ओभरलोड बोकेर नै हिड्ने गरेको बताउनु भयो ।
ढुवानी क्षेत्रमा कहिले नाकावन्दीको मार कहिले कोरोना महामारीको विषम अवस्था र आर्थिक मन्दीमा समेत ज्यानको बाजी राखेर विभिन्न समस्या झेल्दै कठिन परिस्थितिको सामना गर्दै ट्रक व्यवसाय सञ्चालन गर्न विवस भएको लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद खरेलले बताउनु भयो ।
अध्यक्ष खरेलले ट्रक व्यवसायी विगत ४ वर्ष यता पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको जिर्ण अवस्थामा रहेको बाटोले गर्दा ट्रकहरुमा टुटफुट भई अत्याधिक खर्च आउने गरेको गुनासो गर्नुभयो ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका उपाध्यक्ष विष्णु प्रसाद न्यौपानेले नेपालमा भारतिय ट्रक ट्रेलरहरुले निर्वाध रुपमा नेपाल अधिराज्य भरी ढुवानी गर्दा नेपाली ट्रकहरु घर ग्यारेजमा खडा गर्नुपर्ने अवस्थाका कारण यातायात क्षेत्र सँगै राज्य पनि धरासायी अवस्थामा पुगेको बताउनुभयो ।
ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशका संयोजक यम पाण्डेले अहिलेको अवस्थामा सबै यातायात व्यवसायीहरु एकजुट भएर आफ्नो बयवसायिक हक अधिकारका लागि लाग्नुपर्ने बेला आएको बताउनु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठले यातायात सँगै उद्योगी व्यवसायीहरु पनि पिडित रहेको बताउँदै राज्यले समयमै व्यवसायी बचाउन पहल नगरे सबै विलय भएर जाने बताउनु भयो ।
कार्यक्रममा भैरहवा मेडिकल कलेज (युसिएमएस)का प्रशासन प्रमुख तेज केसीले लुम्बिनी ट्रक यातायात व्यवसायी संघका कर्मचारी तथा संस्थामा आवद्ध व्यक्तिहरुको उपचारमा युसिएमएसका कर्मचारी सरहको सुविधा दिने बताउनु भयो ।
कार्यक्रममा महासचिव रुमाखर गौतमको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सन्तराम पाण्डेको आर्थिक प्रतिवेदन साधारणसभाले पारित गरेको छ ।