सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका रामापुर स्थित भड्छा गाउंमा १ सय १३ औँ भड्छा महोत्सब तथा माघे औसी मेला आयोजना हुने भएको छ ।
आगामी माघ २५ देखि २७ सम्म संचालन हुने सो ऐतिहासिक रात्रीकालिन माघे औंसी मेला सभ्य र भब्यरुपले सम्पन्न गर्न आवश्यक तयारी पुराभएको बताइएको छ ।
बिगत एक सताब्दी अघिदेखि निरन्तर माघे औँसीको अबसरमा संचालन भैरहेको सो महोत्सवमा स्थानीय थारु जातीको सँस्कृति झल्किने नाच तथा झाँकीहरु प्रदर्शन र बिभिन खेलकुद प्रतियोगिताहरु संचालन हुने गर्दछ ।
हाम्रो गाँउ हाम्रो संस्कार, संस्कृति जगेर्ना गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ उक्त मेलालाई महोत्सवका रुपमा मनाउन थालिएको आयोजक समितिले जनाएको छ
।
यसक्षेत्रकै ऐतिहासिक महत्वको पर्व मानिने सो माघे औंसी मेला तथा महोत्सव रातीमै शुभारम्भ हुने र रातीमै समापन हुने परम्परा छ । हरेक बर्ष संचालन हुने सो मेलामा लाखौँको संख्यामा मानिसहरु सहभागि हुने आयोजक समितिका अध्यक्ष बुद्धिराम चौधरीले बताउनु भयो ।
मेलामा स्थानीय सांस्कृतिक नृत्यहरु झुमडा नाच, झर्रा नाच, मयुर नाच तथा मगर संस्कृति झल्कने कौडा नाच, सोरठी नाच लगाएत कला संस्कृति समेत प्रदर्शन गरिने उहाले बताउनु भयो ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य खुशीराम चौधरीले बिगत एक शताब्दीको ईतिहास बोकेको भड्छा महोत्सब तथा माघे औसी मेलाले यसक्षेत्रका आदिबासी जनजाती समुदायको कला संस्कृति र भाषा संरक्षणमा योगदान पुराएको बताउनु भयो ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सल्लाहकार गोविन्द खनालले मेलालाई थप ब्यबस्थित गर्दै लैजानु पर्ने कुरामा जोड दिदै यसले स्थानीय संस्कृति प्रबद्र्धन हुनुका साथै आर्थिक गतिबिधीमा पनि बढावा दिने बताउनु भयो ।
परापुर्व कालमा एक साधुले सो मेलाको सुरुवात गरेको किंवदन्ती रहेपनि
बि.सं १९६६ सालदेखि निरन्तर रुपमा ब्यबस्थित ढंगले सञ्चालन गर्दै आएकोे ईतिहास रहेको मेला आयोजक समितिले जनाएको छ । यसअघि बिसं २०६६ सालमा १ सयौं महोत्सब अर्थात हिरक महोत्सब सम्पन्न गरिसकेको आयोजक भड्छा गाउ समाजले जनाएको छ ।