बुटवल, २४ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री समेत रहेका सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचार रोक्न पाँच दलीय गठबन्धन बनेको बताउदै गठबन्धनलाई अझै बलियो बनाउन गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन् ।
पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले एमाले अध्यक्ष ओली सरकारमा हुँदा अरु दल र जनतामाथि अत्याचार गरेका र प्रतिनिधिसभा दुई पटकसम्म विघटन गरेकाले पाँच दलीय गठबन्धन बनेको बताए । देउवाले भने–‘प्रजातन्त्रको भविष्य बलियो बनाउन गठबन्धनलाई बलियो बनाउनु पर्ने आवश्यकता रहेको छ ।’
पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले बुटवलको सुकुम्वासी समस्या समाधान गर्न, तराईको नागरिकता समस्यालाई सधैका लागि अन्त्य गर्न गठबन्धनका उम्मेदवार जिताउनुपर्नेमा जोड दिए ।
गठबन्धनकै कारण मुलुकका जनताले बोल्न, लेख्न र आफ्नो अधिकारको वकालत गर्न पाएको भन्दै सभापति देउवाले भने–‘नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको निरंकुशता अन्त्यका लागि पनि गठबन्धनको आवश्यकता अपरिहार्य छ ।’
प्रधानमन्त्री देउवाले भने –‘संसदबाट एमसीसी पारित भएपछि अब बुटवलदेखि भालुबाङ हुँदै लमहीसम्मको सडक बलियो र राम्रो बन्दैछ, विकासका काम धमाधम हुनेछन्, जनताले अब परिवर्तनको अनुभूति गर्नेछन् ।’
‘एमसीसी परियोजना अन्तर्गत बुटवलदेखि भालुवाङ हुँदै लमहीसम्म अत्यन्त बलियो महत्वपूर्ण चौडा सडक बन्दैछ,’ सभापति देउवाले भने– ‘एमसीसीले सबैभन्दा बढी बुटवल, भैरहवा र दाङ देउखुरीसम्मका जनतालाई फाइदा हुनेवाला छ ।’
उनले भने–‘एमसीसी परियोजना अन्तर्गत बुटवलदेखि दाङसम्मको सडक विस्तार हुने र विद्युत प्रशारण लाइन बन्ने भएकाले त्यसबाट सबैभन्दा बढी फाइदा बुटवलदेखि दाङसम्मका जनतालाई हुने छ ।’
सभामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुटवललाई स्मार्ट सिटीका रुपमा विकास गर्न गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन मतदातासँग आग्रह गरे । नेता पौडेलले बुटवलको विकासका लागि गठबन्धनका उम्मेदवारले जित्नुपर्ने र त्यसपछि बुटवल क्षेत्रको समस्या समाधानमा हुने बताए ।