बुटवल, २४ बैशाख । तिलोत्तमा– ६ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार गणेश पाठकले आफ्नो वडालाई नमुना वडाको रुपमा बिकास गर्ने बताएका छन् । सामाजिक अभियन्ता समेत रहेका युवा नेता पाठकले तिलोत्तमा– ६ लाई नमुना वडाको रुपमा बिकास गर्ने ठोस योजना र कार्यक्रमका साथ आफूले वडा अध्यक्षमा उम्मेदवारी दिएको बताएका हुन् । उनी नेपाली काँग्रेसको तर्फबाट सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार बनेका हुन् ।
मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा ब्यस्त रहेका पाठकले वडामा देखा परेका समस्याहरुको समाधान र वडाको समग्र बिकास गर्ने योजनाका साथ आफू वडा अध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत भएको बताए । स्थानिय बासिन्दाको साथ, समर्थन र चाहना बमोजिम आफूले वडा अध्यक्षमा उम्मेदवारी दिएको बताउंदै पाठकले वडाको बिकास र वडाबासीको सेवाका लागि आफू प्रतिबद्ध रहेको जनाए ।
पाठकले आगामी ५ बर्षमा गर्ने काम र योजना सहितको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै वडा अध्यक्षमा निर्वाचित भए सरकारी सेवा सुबिधा समेत नलिने घोषणा गरेका छन् ।
जनताको सेवा गर्ने उद्देश्यले उम्मेदवार बनेको बताउँदै उनले राज्यकोषबाट प्राप्त हुने तलब, भत्ता तथा अन्य कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका हुन् । सरकारी स्तरबाट पाउने सेवा सुविधालाई वडाकै लागि खर्च गर्ने पाठकले बताए । ‘म कुनै आर्थिक लाभ र ब्यक्तिगत स्वार्थका लागि वडा अध्यक्षको उम्मेदवार बनेको होइन– पाठकले भने ।’ ‘वडाको समग्र बिकास गर्न र वडाबासीको सेवा गर्ने उद्देश्यले उम्मेदवार बनेको हुँ ।’
‘वडालाई आर्थिक, सामाजिक र भौतिक रुपमा समृद्ध बनाएर नमुना वडाकै रुपमा बिकास गर्ने आफ्नो योजना रहेको उनले सुनाए । नेपाल बिद्यार्थी संघबाटै राजनीतिक यात्रा शुरु गरेका पाठक नेपाल बिद्यार्थी संघ राममणि बहुमुखि क्याम्पसको तीन कार्यकाल सभापति भएका थिए । नेपाल तरुण दल रुपन्देहीका पूर्व जिल्ला सदस्य रहेका उनी नेपाली कांग्रेस प्रेदश सभा २ (क) का उपसभापति समेत हुन् ।
बिभिन्न सामाजिक संघ संस्थामा आबद्ध रही सामाजिक गतिविधीमा सकृय रहंदै आएका पाठक तिलोत्तमा परोपकार समाजका अध्यक्ष तथा हिमाल युथ क्लबका सल्लाहकार हुन् । समाजसेवामा समर्पित रहंदै आएका पाठककै अवधारणा र नेतृत्वमा निःशुल्क कपडा बैंक समेत सञ्चालन गरिएको छ । तिलोत्तमा परोपकार समाज नामक संस्था मार्फत् मणिग्राममा निःशुल्क कपडा बैंक सञ्चालन गरिएको हो । उक्त संस्था मार्फत् तिलोत्तमाका १७ वटै वडामा पूगेर गरिब तथा असाहयहरुका लागि जाडोमा न्यानो कपडा तथा दशैं र नयां बर्षमा नयां कपडा बितरण समेत गरिएको पाठकले बताए । उनले भूकम्प पीडितहरुका लागि लमजुङमा घरटहरा निर्माणका लागि जस्तापाता र गोरखामा खाद्यान्न समेत सहयोग गरेका थिए ।
पाठकले आफू निर्वाचित भए वडाको प्रसासनिक सेवालाई सरल र सहज बनाई घरदैलो सेवा सञ्चालनग गर्ने, वडा अन्र्तगत रहेका सबै सडकहरुको आवश्यकता अनुसार मर्मत, कालोपत्रे तथा स्तरोन्नती र सडकबत्ती जडान गर्ने, कुञ्ज पार्क, तिलोत्तमा पार्क र आनन्दवन पार्कको स्तरोन्नती गर्ने, युवाहरुलाई उद्यमशील बनाउन सिपमूलक तालिमको ब्यबस्था गर्ने, कृषिलाई आधुनिकीकरण, ब्यबसायीकरण र बजारीकरणका लागि बिशेष कृषि प्याकेजको ब्यबस्था गर्ने, एक घर एक धाराको अवधारणा अनुसार स्वच्छ खानेपानीको ब्यबस्था गर्ने, आनन्दवन स्वास्थ्य चौकीलाई बिशेषज्ञ सेवा र आधुनिक प्रयोगशाला सहितको स्तरोन्नती गर्ने, वडा अन्र्तगत रहेका हाटबजारको ब्यबस्थापन तथा स्तरोन्नती गर्ने, वडा स्तरीय आधुनिक कभर्ड हलको निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
यस्तै झरना स्र्पोट्स क्लबमा राष्ट्रिय स्तरको खेल सञ्चालन गर्न पहल गर्ने, वडालाई सुन्दर र हराभरा बनाउने, खेल मैदान तथा उद्यानको ब्यबस्था गर्ने, वडामा रहेका विद्यालयको शैक्षिक गुणस्तर बृद्धि र स्तरोन्नतीका लागि पहल गर्ने, धार्मिक पुरातात्विक र ऐतिहासिक सम्पदाहरुको संरक्षण र सम्बृद्धन गर्ने आफ्नो योजना रहेको पाठकले बताए । वडाको समग्र बिकास गर्ने योजनाका साथ आफू चुनावी मैदानमा होमिएको बताउंदै पाठकले काँग्रेसको पक्षमा मतदान गरि आफूलाई बिजयी गराउन वडाबासी समक्ष आग्रह समेत गरेका छन् ।
अध्यक्षका उम्मेदवार पाठकसँगै उक्त वडामा नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा गोविन्द प्रसाद रिजाल र पूर्ण प्रसाद आचार्य, महिला सदस्यमा सिता खनाल र दलित महिला सदस्यमा गिता गन्धर्व उम्मेदवार बनेका छन् ।