भैरहवा, १८ बैशाख । नेकपा (एकीकृत समाजवादी) का सिद्धार्थनगर नगरपालिकामा मेयर पदका उम्मेदवार कुलेन्द्र पुनले पार्टीले महिलाहरुको उत्थान र क्षमता वृद्धिमा ध्यान दिने बताउनु भएको छ । उहांले पुरुषसरह महिलाहरुको पनि सबै निकायमा उत्तिकै सहभागिता गराउने पार्टीको नीति रहको बताउनु भयो ।
आइतबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा घरदैलो गर्दै उहांले समाजवादीले यो वडाका सबै पदमा महिलालाई नै उम्मेदवार बनाउनुले पार्टी नीति स्पष्ट हुने बताउनु भयो । ‘म निर्वाचित भए भने हरेक जनसहभागिताका कामममा ५० प्रतिशत महिलाहरुलाई प्राथमिकता दिनेछु’, उहांले भन्नुभयो । पुनले सीप विकास, उत्पे्रेरणात्मक तालिम महिलाहरुलाई प्रदान गरिने जनाउनु भयो ।
महिलाले उद्यम गर्न चाहेमा दर्ता शुल्कमा छुट, व्यवसायिक तालिम दिएर सक्षम गराइने बताउनु भयो । ‘उद्यमी महिलाहरु बढाउन कम्तिमा १० लाखसम्मको पुँजीको उद्योग दर्ता निःशुल्क गरिनेछ’, उहांले भन्नुभयो –‘महिला उद्यमी भएमा पाँच वर्ष कर छुट गर्ने व्यवस्था गर्ने छु ।’ पुरानो सोंच, समाजिक मूूल्य मान्यताले अझै जरो गाडेको र जसका कारण महिला उद्यमी बढ्न नसकेको उहांको भनाई छ ।
पुनले भैरहवा नमुना माध्यमिक विद्यालयको शैक्षिकस्तर सुधार्ने, भौतिक पूर्वाधार थप्ने, ग्राबेल सडकलाई कालोपत्रे गर्ने र स्वास्थ्य क्षेत्रमा सुधार गर्ने बताउनुभयो । वडा नम्बर पाँचमा एकीकृत समाजवादीले सबै पदमा महिला उम्मेदवार बनाएको छ । यहाँ अध्यक्षमा पुनम जयसवाल, सदस्यमा माया तेली, सिमा मित्तल, सलोनी हलवाई र निरादेवी सुनार छन् ।