तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ मा आसन्न स्थानीय तहको निर्वाचनको लागि नेपाली काङ्ग्रेसले प्रचार प्रसार कार्यालय उद्घाटन गरेको छ ।
शनिबार एक कार्यक्रमका बिच गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार काङ्ग्रेस युवा नेता रामकृष्ण खाण र उपमेयरका उम्मेदवार हेमन्त पाण्डेले संयुक्त रुपमा प्रचार प्रसार कार्यालय उद्घाटन गर्नुभएको हो ।
तिलोत्तमा ४ सिमानगरमा कार्यालय उद्घाटन गर्दै मेयरका उम्मेदवार एव रुपन्देही काङ्ग्रेस सभापति खाणले यो पटक काङ्ग्रेसले बहुमत स्थानमा जित हासिल गर्ने बताउनु भयो । उहांले तिलोत्तमामा गठबन्धनका उम्मेदवारहरुलाई बिजयी बनाउन आग्रह गर्दै राष्ट्र र तिलोत्तमाको बिकास गर्नको लागि काङ्ग्रेसले जित्नैपर्ने बताउनु भयो । उहांले तिलोत्तमा नगरभित्रका सार्वजनिक स्थानहरुमा फ्रि वाइफाईको ब्यबस्था र सीसीटीभी जडान गरिने बताउनुभयो । उहांले मोवाइल एप तथा डिजिटल प्रणाली मार्फत सेवाग्राहीले घरै बसी पालिकाको दर्ता तथा सिफारिस लिन सक्ने र प्रत्येक वडामा बैंक शाखा स्थापना गरी डिजिटल भुक्तानी प्रणाली लागू गरिने बताउनु भयो । एमालेलाई भोट हाल्नु भनेको भोट खेर फाल्नु हो । सिमानगरका बस्तीमा धेरै समस्या रहेको र ति समस्या समाधान गर्न कांग्रेस लाई जिताउन आवश्यक छ उहांले भन्नुभयो ।
एमालेको दुई तिहाइको सरकार हुँदा पनि सुकुम्बासी समस्या समाधान नगरेको, लालपुर्जा दिने भनेर जनता झुक्याउने काम गरेको तर अब कांग्रेसले पाँच वर्ष भित्र लालपुर्जा सवैको सुकुम्बासीको हात हातमा पुराउने दावि गर्नु भयो ।
कार्यक्रममा बोल्दै उपमेयरका उम्मेदवार पाण्डेले सिमानगरका केही बस्तीमा हाईटेन्सनको समस्या भएकोले त्यसलाई व्यवस्थापन र बस्ती स्थानान्तरण प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहांले तिलोत्तमाको दिगो बिकासको लागि गठबन्धनलाई बिजयी बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै तिलोत्तमा ४ का वडा अध्यक्षका उम्मेदवार गोबिन्द प्रसाद भुसालले नगरबाट पाउने सेवा सुविधा विपन्न, गरिब बालवालिका लाई खर्च गर्ने घोषणा गर्नुभएको छ । नेपाली काङ्ग्रेसबाट वडाअध्यक्षको उम्मेदवार बनेका उहांले गठबन्धनले तिलोत्तमामा दिगो बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रचार प्रसार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम वडा सभापति किशोर सुवेदीको सभापतित्व र सचिव मातृका ज्ञवालीको संचालनमा भएको थियो ।

