सिता बराल
बुटवल, २७ भदौ । समुदाय स्तरमा कोरोना भाइरस सँक्रमण फैलिएसँगै कोरोना सँक्रमितलाई छिमेकी र आफन्तले सहयोग नगरेको र अपहेलना गरेको भन्ने गुनासो आईरहेका बेला बुटवल बेलबास भानुपथ होम आइसोलेशनमा बसी कोरोना जितेर निस्किएका एकै परिवारका ३ जनालाई टोलवासीले पुष्पगुच्छासहित सम्मान गर्नुका साथै बधाईसहित शुभकामना दिएका छन् ।
बुटवल उपमहानगरपालिका–१३ बेलबास भानुपथ निवासी एकै परिवारका ३ जनालाई जनप्रतिनिधि र छिमेकीले पुष्पगुच्छाले स्वागत गर्दै सम्मान गरेका छन् । भानुपथ निवासी बुटवल उपमहानगरपालिकाका आइटी इन्जिनियर बिकेक भुसाल, उहांका ९ महिनाका छोरा र भान्जीलाई जनप्रतिनिधि बेदप्रसाद गैरे, आमा समूहका अध्यक्ष गिरा बराललगायत टोल समितिका पदाधिकारी र टोलवासीले पुष्प गुच्छा प्रदान गरी कोरोना जितेकोमा बधाई तथा शुभकामना ब्यक्त गरेका हुन् ।
कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु होम आईसोलेशनमा बसेर आज २१ आंै दिन पछि कोरोना जितेर सामाजिक जीवनमा फर्किएका हुन् । होम आइसोलेशनमा रहँदा समेत टोलका अगुवा तथा छिमेकीहरुबाट राम्रो सहयोग पाएको र सबैले स्वास्थ्यलाभको कामना गरेको भन्दै इन्जिनियर भुसालले सबैप्रति आभार व्यक्त गर्नुभयो । कोरोना भाइरस सँक्रमित भई होम आइसोलेशनमा बसेर निस्किएका भुसालको परिवारलाई नेगेटिभ रिपोर्ट प्रदान गर्दै जनप्रतिनिधि गैरेले कोरोना रोकथामका लागि सजग र सचेत बन्न सबैलाई आग्रह गर्नुभयो ।
सामाजिक दूरि कायम गर्ने, मास्क लगाउने जस्ता सुरक्षाका विधि अबलम्बन गर्ने हो भने कोरोना सँक्रमणबाट बच्न सकिने भएकाले सबैले उच्च सर्तकता अपनाउनु पर्नेमा उहांले जोड दिनुभयो ।
टोलका कुनै पनि सदस्यलाई कोरोना सँक्रमण हुँदैमा सँक्रमित सदस्य वा सदस्यको परिवारलाई कसैले पनि फरक ब्यवहार तथा भेदभाव नगर्न र उनीहरुलाई आत्मवल बढाउने तथा हौसला प्रदान गर्ने खालका ब्यवहार प्रदर्शन गर्न टोल समितिले समेत सबैलाई सचेत गराउदै आएको छ ।