श्यामलाल पोखरेल
निकाल्यौ हिरामोती बनायौं सुनका दरबार ।
न हामलाई एकछाक रोटी नपायौं ओत लाग्ने घर ।
बगैचाभरी फुलहरु हामीले भुलायौं ।
फांटैभरी धानका वाला हामीले झुलायौं ।
माथिका मर्मस्पर्शी तथा मन छुने यी शब्दहरुले काम गरिखाने वर्गको भित्रि भावनाको प्रतिनिधित्व गरेका छन् । सधै काम गर्ने तर खान नपाउने । घर बनाउने तर अरुका लागि । यस्तै बाध्यता, विवशता भोगेका र भोग्दै आएका संसारका शोषित पीडित मजदुरहरुको कहाली लाग्दो अवस्था को । संसारका मजदुरहरुले आज मजदुर दिवस, १३१ औं मे दिवस अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस ।
आजको २१ औं सताब्दीको अवस्थामा संसारका सबै देशको भौतिक विकासमा मजदुर वर्गको प्रमुख हात रहेको छ । मजदुर वर्गको मेहेनतका कारण आफुलाई अब्बल दर्जाको मान्ने बेलायत तथा यूरोपका विभिन्न देश, अमेरिका, चाइना, कोरिया भारत लगायतका देशसंगै नेपालको भौतिक विकास गरेकै मजदुरहरुले हो । त्यही मजदुर वर्ग दोस्रो दर्जाको नागरिक भएर बाच्नु परेको अवस्था छ । मजदुरलाइ गरिने व्यवहार र दृष्टिकोण पूरानै चिन्तनबाट ग्रसित छ ।
भौतिक विकासदेखि राजनीतिक परिवर्तन र निर्वाचनमा भोट दिएर दलका नेताहरुलाई सत्तामा पुराउनेमा पनि मजदुर वर्ग नै अगाडी छ । हरेक क्षेत्रमा सहयोग पुराएका मजदुर अहिले पनि आर्थिक, भौतिक र सामाजिक सुरक्षाको हिसावले कमजोर छन् ।
नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनको हरेक कालखण्डमा भएका परिवर्तनमा पनि मजदुर वर्गनै अगाडी छ । हरेक परिवर्तनको संवाहक वनेको मजदूर वर्ग मुलुकमा जेजस्ता परिवर्तन भएपनि गरिवीको रेखामुनी छ । मजदुरहरुका भोटले सत्तामा पुगेका दलका नेता र सत्ता सञ्चालकहरु भ्रष्ट भएकै कारण मजदुर वर्गले मुक्ति पाउन सकेको छैन । संसारमा नै मजदुरहरुको अवस्था नाजुक छ, भने नेपालमा अझै कहालीलाग्दो अवस्था छ । उनै मजदुहरुहरुले दिएको भोट पाएर हिजो फाटेका चप्पल लगाएर हिड्ने दलका नेताहरु पजेरो सयल गर्दै महलमा अयस आराम गरिरहेका छन् । तर तिनै भोट दिने र देशको भौतिक विकास गरेका मजदुरहरु भने उनीहरुकै अगाडी भोकभोकै हिडेका छन् । आर्थिक अभावका कारण छोराछोरी पढाउन सकेका छैनन् । बिरामी भएर उपचार गराउन सकेका छैनन् । एक छाक खान र एकसरो कपडा लाउन पनि उनीहरुलाइ समस्या छ ।
आज मे दिवस मजदुरहरुले आफ्नो हक अधिकारको पक्षमा जुझारु संघर्ष गरेको प्रतिकको दिन । यस दिनलाई संसारभरका मजदुर तथा श्रमिकहरुले महान् पर्वको रुपमा विशेष रुपमा मनाउने गर्दछन् । मजदुरहरुले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको माग राखी १८८६ मे १ देखि अमेरिकाको सिकागो शहरमा आन्दोलनको थालनी गरेका थिए । हजारौँ मजदुरहरु सडकमा उत्रिएर आफ्नो अधिकारको पक्षमा लगातार प्रर्दशन गरको दिन हो आज । सरकारले बर्बर दमन गर्दै आन्दोलनकारी मजदुरमाथि गोली बर्सायो । नौ जना श्रमिकले सहादत प्राप्त गरे । सयौंको संख्यामा श्रमिकहरु घाइते भएर उनीहरुले ठूलो अपमान पनि सहे । केयौंको अंगभंग पनि भयो । सिकागोको सडक श्रमिकको रगतले रगताम्य बन्यो । त्यस्तो दमनको अवस्थामा पनि आन्दोलनमा उत्रिएका श्रमिकहरुले आन्दोलनलाई अगाडी बढाए र सफलताको विन्दुमा पुर्याएरै छाडे ।
सिकागोमा भएको मजदुरहरुको आन्दोलनले संसारभर मजदुरको मन जित्यो र आन्दोलन विश्वव्यापी बन्यो । वर्षौ वर्षदेखि अन्याय अत्याचार सहेर पींडित बनेका श्रमिकहरुले ज्यानको वाजी नै थापेर सम्झौताहिन संर्घष गरे । दमनमा उत्रिएको राज्यका सेना पुलिससंग सम्झौताहिन संघर्ष गरेर सिकागोको मजदुर आन्दोलन सफल भएकै कारण संसारका सबै मजदुरहरुले आज मजदुर दिवस तथा मे दिवस मनाउन पाएका छन् । अन्ततः आन्दोलनले दमनकारीलाई झुकाएरै छाड्यो । आठ घण्टे कार्य दिवसले कानुनी मान्यता पायो । १८–२० घण्टाको अनिश्चित र पीडादायी कार्यदिनको बोझबाट मुक्ति पाउन सुरु गरिएको ऐतिहासिक आन्दोलनलाई सम्मान गर्दै १८८९ मा सम्पन्न समाजवादीहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनले मे १ लाई मजदुर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । तत्पश्चात् १९९० देखि हरेक वर्ष मे १ गतेका दिन विश्वव्यापी रुपमा मे दिवस मनाउने गरिएको छ ।
नेपालमा पनि विगत लामो समयदेखि मे दिवस मनाउने गरिएको छ । मे दिवस मजदुरको एकता, वलिदानी संघर्ष र विजयको प्रतिकको दिन हो । आन्दोलनका अग्रज एवं शहिदहरुलाई स्मरण गर्ने दिन हो । सिकागोमा त्यसवेला भएको श्रमिकहरुको संघर्षमा सफलता मिलेपनि मजदुरहरुको अवस्था भने अहिले पनि उस्तै छ ।
नेपालमा श्रमिकहरुको अवस्था
संसारका सबै ठाउंका श्रमिकहरुको अवस्था र नेपालका श्रमिकहरुको अवस्था अहिले पनि उस्तै छ र यथार्थता पनि यही हो । काम अनुसारको दाम र दाम अनुसकारको काम पाउनु पर्ने श्रमिकहरुको माग हो । उनीहरुको अधिकार पनि हो । तर श्रमिक वर्गले नेपालको सन्दर्भमा भन्नुपर्दा काम अनुसारको दाम पाएका छैनन् । काम अनुसारको दाम नपाएकै कारण नेपालबाट हजारौं हजार बेरोजगार युवाहरु विदेश पलाएन भएका छन् ।
साच्चै भन्नु पर्दा २०७२ मा आएको विनासकारी भूुकम्पले थिलोथिलो परेको नेपालको अवस्थालाइ मजदुरहरुले पुरानै ठाउंमा पुराएका हुन् । आज विश्वभर फैलिरहेको कोरोना भाइरसले आर्थिक रुपमा कमजोर भएको देशको आर्थिक अवस्थालाई भोली पुरानै अवस्थामा ल्याउने कार्यमा पनि मजदुरहरुको भूमिका वढि हुने छ । मजदुर वर्गको कामले नै देशको आर्थिक सम्वृद्वि हुने छ । तर त्यही वर्ग अहिले उपेक्षित र खान नपाएको अवस्था छ । कोरोना कहरसंगै सरकारले मुलुकमा लकडाउन गरेको छ । लकडाउनकै कारण समस्यामा परेकाहरुलाई तीनै तहका सरकारले राहत बाडिरहेका छन् । विभिन्न सामाजिक संघसस्थाहरुले पनि राहत बांडेको अवस्था छ । तर वास्तविक मजदुर वर्गले कमै मात्रमा राहत पाएका छन् । राहात पाएकाहरुले पनि गुणस्तरहिन दाल, चामल खान बाध्य छन् । हिजो मजदुर वर्गको भोटले सत्तामा पुगेका दलका नेता तथा जनप्रतिनिधिहरुले राहतमा पनि राजनीति गरेका कारण मजदुरहरु समस्यामा परेका छन् ।
ऋहिले देशमा कम्युनिष्टको सरकार छ । तर मजदुहरु भने भोकभोकै छन् । कम्युनिष्टले मजदुर वर्गको प्रतिनिधित्व गर्न नसकेकाले पनि नेपालमा मजदुरहरुको समस्या जहांको त्यही छ । कम्युनिष्ट पार्टी सर्वहार किसान र मजदुरहरुको पार्टी भन्ने गरिए पनि मजदुरको हितमा काम गरेको छैन । किसान मजदुरहरुको प्रतिनिधित्व गर्ने कम्युनिष्ट पार्टीको आज सरकारमा दुई तिहाई बहुमत छ । यो सरकारले कम्युनिष्ट तथा श्रमिकहरुको पक्षमा विभिन्न नीति नियम तथा कानुन बनाउन सक्ने हैसियत राख्दछ । तर, श्रमिक वर्गको अवस्था भने उस्तै छ, पञ्चायतमा जस्तै । महँगीले सीमा नाघेको छ । श्रमिकहरुले काम अनुसारको दाम पाएका छैनन् । मजदुरहरुले राहत, सुशासन, सुरक्षा र विकासको अनुभूति गर्न पाएका छैनन् । गणतन्त्र भने पनि शासनको स्वरूप सामन्ति नै छ । जनप्रतिनिधिहरु आफ्नो सुविधा वृद्धि गर्न लागि परेका छन् । राजनीतिक आडमा जनप्रतिनिधिहरुले मनोमानी गरेका छन् । अनियमितता र भ्रष्टाचार दिन प्रतिदिन मौलाउंदै गएको छ । राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने र उत्पादन वृद्धि गर्ने न कुनै ठोस कार्यक्रम छ नत नीति नै । वैदेशिक लगानी भित्राउने नाममा बहुराष्ट्रिय कम्पनीको लुटलाई छुट दिने र नेपाललाई झनै परनिर्भर र खोक्रो बनाउने काम हुँदैछ । रोजगारी र अध्ययनको नाममा युवाहरुको पलायनता रोकिएको छैन । मजदुर, किसान र न्यून आय भएका जनतालाई सुरक्षा र राहतको सरकारले कुनै व्यवस्था गर्न सकेको छैन । राष्ट्रियताको नारा लगाएर बहुमतप्राप्त ओली सरकार विदेशीसँग झुक्दै राष्ट्रहित वपरिीत कार्य गर्दैछ । नागरिकता ऐनको संशोधन विधेयक र अरुण तेश्रोको सिलन्यास त्यसका ज्वलन्त प्रमाण हुन् । बहुमतको दम्भले सरकार निकम्मा बन्दै गएको छ । श्रमिक वर्गका कूनै पनि माग तथा अधिकारको सम्बोधन हुन सकेको छैन । काम गरेर जीविका निर्वाह गर्ने इमान्दार वर्ग उपेक्षित छ । सरकार र नेताहरुको वरिपरि घुम्ने केही सिमित मानिसले मात्र रजाई गरिरहेका छन् । तर विहानदेखि सांझसम्म काम गर्ने श्रमिक वर्ग छाक टार्न नसक्ने अवस्थामा छ । जस्ले गर्दा अव श्रमिकहरुले पेटको लागि पनि न्यायपूर्ण संघर्षको बाटो रोज्ने बेला आएको छ ।
सरकारमा प्रतिनिधित्व गरेको पार्टी नेकपाका नेता तथा कार्यकर्ताले देशमा राजनीतिक क्रान्ति पुरा भयो अव आर्थिक क्रान्ति आजको आवश्यक्ता हो भन्दै छन् । सुन्दा हो पनि जस्तो लाग्छ । तर उनीहरुको काम, व्यवहार भने ठिक त्यसको उल्टो छ । आर्थिक समृद्विको नारा बांडेर हिजो चुनावमा श्रमिकहरुलाई भोट बैंक बनाए, आज त्यही श्रमिक वर्ग उपेक्षित छ । सामान्य गास, वास, कपाससहितका सामान्य आधारभूत समस्याहरु पनि हल हुन सकेका छैनन् । विकास र समृद्धिका मुख्य चालक श्रमजीवी वर्ग हुन । उनीहरुकै पसिनाले संसार आजको युगमा आएको छ । तर विडम्वना, शासक र पुँजीपति वर्ग सधैँ उनीहरुलाई शोषण, दमन र अपमान गर्न उद्यत छन् । नयाँ संविधान जारी भएपछि निर्मित÷संशोधित श्रम ऐन, औद्योगिक व्यवसाय ऐन लगायतका कानुनहरुमा मजदुरको हक, अधिकार विरोधी प्रावधान राख्ने र ट्रेड युनियन अधिकारलाई कुण्ठित गर्ने कार्य गरिएको छ । अहिले श्रमिकको न्यूनतम तलब अत्यन्तै कम छ । त्यो पनि सबैतिर कार्यान्वयन भएको छैन । रोजगारीको स्थायित्व छैन, सामाजिक सुरक्षा नाम मात्रको छ । श्रम अदालत र श्रम कार्यालयसम्म श्रमिकको पहुँच पुग्ने सम्भावना पनि देखिदैन । २०७५ मंसिरमा सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागु भएको घोषणा गरेको थियो । त्यस योजनामा विभिन्न योजनाको प्रबन्ध भए पनि बेरोजगारी अवस्थाको सुरक्षा योजना समावेश गरिएको छैन भने सरकारको योगदान पनि समावेश गरिएको छैन । यो योजनामा सरकारी योगदान थपेर त्रिपक्षीय योगदानमा आधारित बनाउनु पर्दछ । यसलाई असंगठित तथा स्वरोजगारीका क्षेत्रमा पनि तत्काल लागु गर्नपर्दछ । कानुन निर्माण तहमा हुनेखाने वर्गका कारण बहुराष्ट्रिय कम्पनीको स्वार्थ हावी भएको छ । उच्चपदस्थ अधिकारीहरुलाई आजीवन राज्यको सुविधा तर काम गर्र्ने श्रमिकलाई करार, अस्थायी र ज्यालादारीमा कजाउने गलत परिपाटीका कारण आज नेपाली मजदुर वर्गको भविश्य अन्धकारमा छ । धेरै काम थोरै ज्याला, अपमानित जीवन र अनिश्चित भविष्य नेपाली श्रमिकको वर्तमानको तीतो यथार्थ बनेको छ ।
प्रवासमा मजदुर
प्रवासी तथा विदेशमा काम गर्ने नेपाली मजदुरहरुको अवस्था पनि कहाली लाग्दो नै छ । ४८ देखि ६० डिग्री तापक्रममा काम गरेर विदेश जांदा लागेको ऋण पनि तिर्न नसक्ने विदेशस्थित नेपाली श्रमिकहरुको अवस्था छ ।
आज विश्भर फैलिएको कोरोना भाइरसका कारण विदेशमा नेपालीहरु समस्यामा छन् । उनीहरुले पठाएको रेमिटान्सले देश चलेको छ । तर, आज तिनै प्रवासी नेपाली मजदुरहरुलाइ उद्दार गर्ने विषयमा सरकार मौन देखिन्छ ।
त्यसैले अब श्रमिक वर्गलाई सचेत, सङ्गठित र आन्दोलित गर्नु नागरिक समाजको कर्तव्य बनेको छ । वर्ग संघर्र्षद्वारा तत्कालीन र दीर्घकालीन रूपमा मजदुरको पक्षमा वर्गीय सत्ता स्थापना नजहुंदासम्म श्रमिकहरुको अवस्थामा परिवर्तन आउने छाट देखिदैन । किनभने सत्ताले हुने खानेको पक्षमा नै वकालत गरिरहेको छ । संघर्ष र परिवर्तनको सर्वव्यापी नियमलाई कुनै शक्तिले थेग्न र रोक्न सक्दैन । संसारको इतिहांसले पनि त्यो कुराको पुष्टी गर्दै आएको छ । मजदुर तथा मे दिवसको इतिहासले पनि हामीलाई यही सन्देश दिएको छ ।