रोल्पा, १८ बैशाख । रोल्पामा बम विस्फोटमा परेर चार बालबालिकाले ज्यान गुमाएका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँका चार बालबालिकाको आज (बिहीबार) साँझ बम विष्फोटमा परेर मृत्यु भएको रोल्पा प्रहरीले जानकारी गराएको छ ।
प्रहरीका अनुसार मृत्यु हुने वालवालिकामा वर्ष १४ का नोकिराम डाँगी, १४ वर्षकै गौरव नेपाली, ११ वर्षका विमला खत्री र ५ वर्षका विजय खत्री छन् । विमला र विजय एकै परिवारका हुन् ।
गाउँ देखि केही टाढाको खोलामा बमको ठूलो आवाज आएपछि गाउँलेहरु हेर्न गएका थिए । गाउँलेहरुले चारजना वालवालिकाको मृत्यु भएको देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार गाउँ नजिकैको जंगलमा गएका चारैजनाको बम विस्फोटमा परेर घटनास्थलमै मृत्यु भएको हो ।
घटना कसरी भयो भन्ने बारे केही खुल्न सकेको छैन । सशस्त्र द्वन्दको समयमा तत्कालिन माओवादीले लुकाएर राखेको वम विस्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । वालवालिकाले बम भेटाएर खेलाउने क्रममा वा कुल्चिएर विस्फोट भएको हो कि भन्ने आशंका गरिएको छ । प्रहरी प्रमुख गुरुङका अनुसार के कारणले घटना भएको हो भन्ने विषयमा अनुसन्धान भैरहेको छ ।
बम विस्फोट भएको घटनास्थल नजिकै अर्को बमसमेत फेला परेको छ । नेपाली सेनाको वम डिष्पोजल टोलीले नपड्किएको बम डिस्पोज गरेपछि मात्र वालवालिकाको शव उठाइने प्रहरीले जनाएको छ ।
