काठमाडौं, १४ बैशाख । सरकारले गएको चैत ११ देखि जारी लकडाउनलाई वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेको छ । आज (आइतवार) साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउन तत्काल खुला गर्न नहुने निष्कर्ष सहित लकडाउन एक साता लम्ब्याउन सिफारिस गरेको थियो । तर, सरकारले भने लकडाउन १० दिन थप गर्ने निर्णय गरेको हो । देशका विभिन्न जिल्लामा कोरोना संक्रमित देखिने क्रम बढ्दै गएपछि सरकारले लकडाउनलाई निरन्तरता दिएको हो । गएको चैत ११ गते देखि लकडाउन लागू गरेको सरकारले त्यसयता चारपटक लकडाउन बढाएको छ । पछिल्लो पटक थपिएको लकडाउन १५ वैशाखसम्म थियो ।
यस्तै मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमा नाकामा आवागमन वैशाख ३१ गतेसम्म रोक्ने निर्णय गरेको छ । यसअघि शनिबार बसेको उच्चस्तरीय समन्वय समितिले अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान जेठ २ गतेसम्म रोक्ने निर्णय गरिसकेको छ ।
