कमल चौधरी
कपिलवस्तु, ६ बैशाख । कपिलबस्तु । बाणगंगा नगरपालिका–८ बोर्डगाउँ चोकमा पैदल यात्रा गर्ने यात्रीहरुलाई खाजाको व्यवस्था गरिएको छ । बाणगंगा नगरपालिकामा क्रियशिल संघ संस्थाहरुको अगुवाईमा बैशाख ५ गते शुक्रबार देखि लकडाउन नखुलेसम्म पैदल यात्रीका लागि खाजाको व्यवस्था गरिने सामाजिक अभियन्ता तथा घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्यालले जानकारी दिनुभयो ।
पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) को यो डरलाग्दो कहरको त्रासमा जनताले दुःख पाईरहेका छन् । भोक भोकै बस्नु पर्ने मात्र नभै भोकभोकै लामो दुरीको पैदल यात्रा गर्न समेत बाध्य भएका छन् । कोरोनाको उच्च जोखिमबाट बच्न र संक्रमणबाट जोगिन सरकारले लकडाउन गरेपछि विपन्न, गरिव र श्रमिक मजदुरहरु समस्यामा परेका छन् । यसरी दुःखमा परेर पैदल यात्रा गर्ने जो कोही मजदुरहरुलाई बाणगंगा नगरपालिका कपिलबस्तुका त्रियाशिल संघसंस्था, समाजसेवी, तथा बुद्धिजिवीहरुको पहलमा खाजाको व्यवस्था गरिएको हो ।
सरकारले लक–डाउन घोषण गरेर जो जहाँ छ त्यही सुरक्षित बस्नुपर्ने भने पनि मजदुरहरुलाई दैनिक खानाको व्यवस्थापन गर्न समस्या, परिवारिक, आर्थिक विभिन्न कारणले गर्दा भोकभोकै सयौं किलोमिटर पैदल यात्रा गर्न बाध्य भएका यात्रीहरुलाई कपिलबस्तुका स्थानिय नगरिक अगुवा, एसएसडीसी कपिलवस्तु, ईएसडीओ नेपाल कपिलवस्तु, एसएसडीएफ र स्व.वि.यु. बाणगंगा बहुमुखी क्याम्पसको पहलमा पैदल यात्रा गर्ने यात्रीलाई खाजाको व्यवस्थापन गरिएको हो ।
भोक भोकै बस्नु पर्ने अबस्था र लामो पैदल यात्रा बाटै घर फर्कनु पर्ने पिडा एकातिर छ भने खाना कै अभावमा बिरानो शहरमा देशका विभिन्न स्थानबाट यात्रा गर्ने यात्रुहरुलाई स्थानीय संघ संस्थाहरुले खाजाको व्यवस्था गरेर सहयोग गरेका हुन् । हुन त लक–डाउन भनेको जो जहाँ छ त्यही बस्नुपर्ने हो । तर विविध समस्याको कारण बाध्य भएर सयौं किलोमिटर पैदय यात्रा गरिरहेका श्रमिकहरु निश्तित गन्तव्य सम्म सकुसल पुगुन्, भन्ने हेतुले कपिलबस्तुको बोर्डगाउँ चोकमा महेन्द्र राजमार्ग हुदै पूर्व पश्चिम हिड्ने पदयात्रीहरुलाई खाजाको व्यवस्था गरेको स्थानीय बासिन्दा एवम् व्यवसायी दिलु सुनारले जानकारी दिनुभयो ।
शुक्रबार देखि सुरुगरिएको पैदल यात्रीलाई खाजा सहयोग गर्ने अभियानमा बाणगंगा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष गुणनिधी भुसाल, सिद्धार्थ सामाजिक विकास संस्थाका अध्यक्ष तेजप्रसाद आचार्य, घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्याल, कपिलबस्तुका स्थानीय नागरिक अगुवा रविराज आचार्य, प्रेम नारायण पौडेल, दिवस घिमिरे, विष्णु भट्टराई, जगन्नाथ भण्डारी, बाबुराम भण्डारी, रामकान्त घिमिरे, सुमन ज्ञवाली, राजु पाण्डे, गोपाल अर्याल, बेलबहादुर चन्द, चेतनारायण भण्डारी, गिरिराज पौडेल, भिमलाल पाण्डे, दिलु सुनार, घनश्याम घिमिरे, सुर्य भण्डारी विष्णु खरेल, रेखा मल्ल, इश्वरी पुरी लगायतले सहयोग गर्नु भएको छ ।
घरघरमा शिक्षा तथा आत्मनिर्भर विकास संस्था नेपालका कार्यक्रम संयोजक दुर्गा अर्यालका अनुसार सबैको सानो सहयोगले नै आत्मियता कायम हुने र मानवीयता जिवित रहने हुनाले लकडाउन समय अवधिभर पैदलयात्रीरुलाई बोर्डगाउँ चोकमा भुजा, चाउचाउ, भेली र पिउने पानीको व्यवस्था गरिएको छ ।