पुर्व पदाधिकारीले पाउने सुविधा र सुरक्षा जनताको हितमा लगाउ
बुटवल, २७ चैत । नेपाली काँग्रेसका १२ जना केन्द्रीय सदस्यहरुले संयुक्त अपिल प्रकाशित गरी कोरोना भाइरस (कोभिड–१९) को जघन्य महामारीबाट विश्व आक्रान्त बनेको अवस्थामा नेपालले अवलम्वन गर्नुपर्ने विकल्पहरुका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
विश्वव्यापी कोरोना संक्रमणको महामारीबाट राष्ट्र आक्रान्त बनेको समयमा आफ्नो जीवनलाई उच्च जोखिममा राखेर जनसेवामा अहोरात्र खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगाएतका सम्बन्धित सबै ब्यक्तिहरुको बारेमा सरकारलाई गम्भीर र जिम्मेवार बन्न आग्रह गर्दै अपिलमा सुरक्षाकर्मीहरुको तलब कटाउने निर्णयले अभियानमा लागेका सुरक्षाकर्मीलाई निरुत्साहित तुल्याएको उल्लेख गरिएको छ । अपिलमा स्वास्थ्यकर्मी लगायतका सम्बन्धित सबैको आर्थिक सुरक्षा र प्रोत्साहन स्वरुप बिमा र यथेष्ठ भत्ताको व्यवस्था गर्न माग गरिएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु डा. चन्द भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रदिप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले संयुक्तरुपमा जारी गर्नु भएको अपिलमा सड्कटको समयमा खर्च कटौति गर्नको लागि सांसद बिकास कोषको रकम कोरोना भाइरस नियन्त्रण कोषमा राख्न र पुर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षा समेत कटौंति गर्दै जनताको हितमा लगाउन सरकारको ध्यानाकर्षण गराइएको छ ।
दैनिक ज्याला मजदुरी गरेर बाँच्ने गरिब नेपालीहरु तथा बृदबृद्दा हरुका लागि यथोचित राहतको व्यवस्था गर्न, बिदेशबाट नेपाल आउन चाहने नेपालीहरुलाई सहजै आउनदिने ब्यवस्था मिलाउन, सिमामा आइपुगेका नेपाली दाजुभाई दिदी बहिनीहरुलाई नेपाल प्रवेश गराइ क्वारेन्टाइनमा राख्न, आबश्यक स्वास्थ्य परिक्षणको प्रकृया पुरा भएपछि मात्र घर जाने व्यवस्था मिलाउन र संसारभर रहेका नेपालीहरुको स्वास्थ्य अवस्थाका बारेमा विदेशस्थित नेपाली दूतावास र अन्य कुटनीतिक माध्यमबाट जानकारी हासिल गरि आबस्यक सहयोग गर्न सरकारलाई सुझाव दिइएको छ ।
‘महामारीका कारण नेपालीहरुको दैनिक जनजीवन अस्तब्यस्त बन्दै गएको छ । किसान हरुका पशुचौपाया समेत खाद्यान्न को अभावमा परेर मर्ने खतरा बढेको छ । यस विषयलाई समेत गम्भिरतापूर्वक लिई सरकारले उपयुक्त कदम चाल्नु पर्दछ ।’ अपिलमा भनिएको छ ।
इतिहासमा बिरलै आइपर्ने यस्ता महामारी र घनघोर संकटसँग हामी सबै नेपाली एकजुट भएर जुझ्नुको बिकल्प नभएको यस्तो बिपदको बेलामा सरकार चलाउने मुख्य ब्यक्तिले टर्रो र गैरजिम्मेवार अभिव्यक्ति दिनु हुदैन अपिलमा भनिएको छ ।
राजनीतिक इतिहास र पार्टीभित्र स्वच्छ छवि भएका काँग्रेस युवा नेताहरुले जारी गरेको अपिलमा राष्ट्र संकटबाट गुज्रिरहेको यस संवेदनशील घडीमा भष्ट्राचारको कल्पना गर्नु र त्यसमा संलग्न हुनुलाई निम्नकोटीको अपराधको संज्ञा दिदै यस्ता अपराधीहरुलाई राष्ट्रले माफ गर्न नसक्ने र कुनै कारणबाट त्यस्ता पात्र र प्रवृत्ति ले उन्मुक्ति पाएपनि उचित समयमा उनिहरु दण्डित हुने उल्लेख गरिएको छ ।
कोरोनाले विश्वव्यापी रुप लिएसँगै हामीसँग लकडाउनको बिकल्प थिएन र निकै अघिबाटै देखाइनु पर्ने तदारुकता ढिलै भएपनि अवलम्बन गर्नु सराहनिय कदम थियो भन्दै अपिलमा जनतालाई जस्तासुकै संकटबाट पनि जोगाउन र बचाउन सक्ने सामथ्र्य सरकारसँग हुनु पर्दछ भनिएको छ ।
‘लकडाउन मात्र सम्पूर्ण समस्याको समाधान होइन । अहिलेको संकटबाट नेपाली जनतालाई बचाउनु र अभिभावकत्व दिनु बर्तमान सरकारको दायित्व हो । सरकार भनेको जनताको अभिभावक हो ।’ अपिलमा भनिएको छ ।
अहिले सम्म भइरहेको परिक्षण को गति अत्यन्त सुस्त रहेको र यस्तो गतिमा गरिने परिक्षणले भाइरस संक्रमित ब्यक्तिको तिब्रगतिमा पहिचान हुन सक्दैन भन्दै काँग्रेस नेताहरुले परिक्षणको दायरा र गति बढाउन तथा परिक्षण केन्द्रहरू अविलम्ब थप्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
कोरोना भाइरसबाट संक्रमित ब्यक्तिको पहिचान र कोरोना नियन्त्रण अभियानमा कुनै पनि कारणले अबरोध उत्पन्न नहोस् भन्नका लागि आबश्यक पर्ने परिक्षण किट, पिपिइ लगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको बन्दोबस्त गर्न आग्रह गरिएको छ ।



