भैरहवा, १८ चैत । सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारलाई राहत बितरण शुरु गरेको छ । दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका गरिव तथा विपन्न परिवारलाई लकडाउनका कारण समस्या परेपछि गरिब तथा विपन्न मजदुरहरुको लगत संकलन गरि नगरपालिकाले राहत स्वरुप दैनिक उपभोग्य सामाग्री वितरण गरेको हो ।
नगरपालिकाले मंगलबार वडा नम्वर १ मा रहेका १३९ घरधुरीका गरिव तथा विपन्न परिवारलाई खाद्य सामाग्री वितरण गरेको नगरपालिकाका अधिकृत यादवप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहांका अनुसार वडा नम्बर १ बाट शुरु भएको राहत बितरण कार्यक्रम क्रमैसंग नगरका १३ वटै वडामा सञ्चालन गरिने छ ।
सिद्धार्थनगर नगरपालिकाको कार्यपालिका बैठकले चार दिन अगाडी नगर क्षेत्रमा लकडाउनका कारण बिहान बेलुकाको छाक टार्न समस्यामा परेका परिवार तथा ज्यालादारीमा काम गर्ने श्रमिकहरुलाइ राहत दिने निर्णय गरेअनुसार राहत बितरण शुरु गरिएको नगर प्रमुख हरिप्रसाद अधिकारीले बताउनुभयो ।
नगर प्रमुख अधिकारीका अनुसार नगरका १३ वटै वडामा रहेका गरिव, विपन्न तथा ज्यालादारीमा काम गर्ने १ हजार ८ सय ७२ को लगत संकलन गरिएको र सबैलाई उनीहरुलाई आवश्यक खाद्य सामाग्री राहत स्वरुप प्रदान गरिने छ ।
नगरपालिकाले परिवार संख्याको आधारमा राहत सामाग्री वितरण गरेको छ । जसअनुसार चार जनाको परिवार हुने घरधुरीलाइ ५ किलो र दस जनासम्म परिवार हुने घरधुरीलाइ १० किलोका दरले चामल वितरण गरिएको नगर उपप्रमुख उमा काफ्लेले जानकारी गराउनु भयो । हरेक विपन्न परिवारलाई चामलका साथै एक लिटर खाने तेल, एक किलो नुन र एक किलो दाल समेत प्रदान गरिएको उपप्रमुख काफ्लेले वताउनु भयो । नगरमा कोही कसैलाई भोकै बस्न नपरोस् भन्ने उद्देश्यले पहिलो चरणमा थोरै अनुपातमा खाद्य सामाग्री वितरण गरिए पनि लकडाउनको अवधी बढेमा पुन राहत सामाग्री वितरण गरिने नगरपालिकाले जनाएको छ ।
यसका साथै नगरपालिकाले विश्व ब्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस नियन्त्रणका लागि कारोना भाइरस नियन्त्रण राहत कोष समेत स्थापना गरेको छ । उक्त कोषमा नगरपालिकाले ११ लाख ५१ हजार जम्मा गरिसकेको छ भने विभिन्न सहयोगी संघसंस्था तथा व्यक्तिहरुले समेत सहयोग गरिरहेका नगरपालिकाले जनाएको छ । राहत कोषमा नगर प्रमुख अधिकारीले २१ हजार, उपप्रमुख काफ्लेले १५ हजार र सबै वडाका वडाध्यक्षहरुले १० हजारको दरले रकम जम्मा गरेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनिले जानकारी गराउनु भयो ।