घर बाहिर निस्कन प्रतिबन्ध, सार्वजनिक र निजी गाडी तथा उडान वन्द
काठमाडौ, १० चैत । सरकारले भोली मंगलबारदेखि लागू हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समिति बैठकले मुलुकलाई एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । समिति बैठकले सरकारको आदेशको अवहेलना गरे संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने निर्णय समेत गरेको छ ।
आज सोमबार साँझ बसेको समितिको बैठकले भोलि मंगलबार बिहान ६ बजेदेखि देशलाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो । समितिको निर्णय अनुसार मंगलबार बिहानदेखि एक सातासम्म कोही पनि घर बाहिर निस्कन पाइने छैन । सरकारले अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने तथा आन्तरिक व्यवसायिक उडान समेत बन्द गर्ने निर्णय गरेको छ । सरकारले स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । यस्तै सरकारी कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीमात्र कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाउने निर्णय समेत सरकारले गरेको छ ।
कोरोनाभाइरसको संक्रमण फैलने जोखिमलाई कम गर्न सरकारले लकडाउनको निर्णय गरेको हो ।

