बेलहिया नाकामा सावुन पानीले हात धुने व्यवस्था
बुटवल, १० चैत । कृषि बिकास बैंक लि. ५ नं. प्रदेश कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको नेपाल भारत सिमानाका बेलहियामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुकालागि साबुन पानीले हात धुने ब्यवस्था मिलाएको छ ।
कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट सुरक्षित राख्नको लागि उक्त नाकामा सावुन पानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था मिलाउनको लागि १००० लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको बेशिन जडित फलामको स्ट्याण्ड सहित ब्यवस्था गरिएको छ । साथै संक्रमण रोकथाम र दशगजा क्षेत्रमा सरसफाई गर्न बैंकले १० बोरा चुना समेत उपलब्ध गराएको छ । बैंकको अनुरोधमा बैंकका ग्राहक बाबुल निर्माण सेवाका प्रोप्राईटर नफिस अहमदले गिट्टी र बालुवा सहयोग गरेको बैंकले जनाएको छ ।
उक्त ट्यांकी र साबुन पानी सहितका सामाग्री उचित रेखदेख र ब्यवस्थापन गर्ने गरी ईलाका प्रहरी कार्यालय बेलहियालाई हस्तान्तरण गरिएको छ । एक कार्यक्रमका बिच कृषि विकास बैंकका ५ नं. प्रदेश कार्यालयका निर्देशक चन्द्रसिंह थापाले ट्यांकी सहितका सामाग्रीहरु ईलाका प्रहरी कार्यालय बेलहियाका ईन्चार्ज प्रहरी निरिक्षक ईश्वरी अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी महादेव पन्त र बैंकका प्रदेश निर्देशक चन्द्रसिंह थापाले संयुक्त रुपमा धारा खोली सावुन पानीले हात धोएर सो कार्यको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पन्त, प्रहरी उपरिक्षक हेम कुमार थापा, शसस्त्र प्रहरी उपरिक्षक तेज पोख्रल, समाजसेवी रमेश थापा, प्रहरी निरिक्षक ईश्वरी अधिकारीलगायतले बोल्दै यस्तो संबेदनशिल अबस्थामा सिमा नाकामा कोरोना भाइरसको संक्रमण रोकथामका लागि बैंकले गरेको कार्य उदाहरणीय र प्रशंसनिय रहेको धारणा राख्नुभयो । बैंकका निर्देशक थापाले कोरोना संक्रमण रोकथामका लागि बैंकले अन्य किसिमका सहयोग गर्नुपर्ने भएमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
