बुटवल, १९ असार । प्रथम चामुण्डा अल नेपाल स्नुकर प्रतियोगिता काठमाण्डौँका लागि रुपन्देहीबाट ४ खेलाडी छनौट भएका छन् । यहि असार २२ गतेबाट काठमाण्डौँमा सञ्चालन हुने प्रतियोगिताका लागि गोपाल न्यौपाने, शिशिर गुरुङ्, सुविन थापा र कुडल श्रेष्ठ रुपन्देहीबाट छनौट भएका हुन् । दुई दिनसम्म सञ्चालन भएको छनौट खेलकालागि रुपन्देही स्नुकर तथा पुल संघले सहजिकरण गरेको थियो । प्रतियोगितामा ३२ जना खेलाडिले भाग लिएकोमा ४ जना खेलाडी छनौट भएको रुपन्देही स्नुकर तथा पुल संघका सचिव शिव रानाले जानकारी दिनुभयो ।
चमुण्डा स्नुकर हाउस, काठमाण्डौँको आयोजना र नेपाल विलियर्डस स्नुकर तथा पुल संघको प्रायोजनमा खेल सञ्चालनमा हुन लागेको हो । सो प्रतियोगितामा प्रथम हुनेलाई २ लाख, दोश्रोलाई ७५ हजार, तेश्रो र चौथो स्थान प्राप्त गर्ने खेलाडीलाई ३० हजार साथै हाइस ब्रेक गर्ने खेलाडीलाई रु ५० हजार पुरस्कार राखिएको रुपन्देही स्नुकर तथा पुल संघका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले जानकारी गराउनु भयो ।
रुपन्देहीबाट छनौट भएका खेलाडीलाई रुपन्देही स्नुकर तथा पुल संघका संरक्षक शोभित दर्लामी, संघका वरिष्ठ सल्लाहाकार सञ्जयरत्न बज्राचार्य र संघका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले बुधवार एक कार्यक्रमका विच सम्मान सहित बिदाई गर्नुभएको थियो ।
