बुटवल, ४ भाद्र
सवारी दूर्घटना न्यूनिकरण का लागि यातायात मजदुरहरू जिम्मेवार बन्नुपर्नेमा एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश नम्बर पाँचको प्रथम अधिवेशनमा बुधबार बुटवलमा वोल्नेहरुले सडक दुर्घटना न्यूनीकरण गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का राष्ट्रिय कमिटी अध्यक्ष विनोद श्रेष्ठले यातायात मजदुरहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिनु भयो । उहाँले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना मजदुरहरूमा पनि पूर्ण रूपमा कार्यान्वन हुने बताउनु भयो । श्रेष्ठले दुर्घटना सडक दुर्घटना न्यूनीकरण गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताउनु भयो ।
श्रमजीवी वर्गको हितका लागि सरकारले गर्ने हरेक कामको महासंघले समर्थन गर्ने उहाँले बताउनु भयो । श्रमजीवी वर्गको पक्षमा काम गर्न सरकारलाई घच्घच्याइँ रहने र सबैलाई सामाजिक सुरक्षा प्रणालीमा ल्याउन कानूनको संशोधन गर्न, सार्वजनिक खरिद ऐनमार्फत श्रम शोषण गर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताउनु भयो ।
जिफन्ट राष्ट्रिय कमिटी उपाध्यक्ष कमल गौतमले सामाजिक सुरक्षा योजना पूर्ण रुपमा कार्यान्वन हुने बताउनु भयो । सामाजिक सुरक्षा योजना कार्यान्वन हुन नदिन केही शक्तिहरु लागे पनि त्यो सफल नहुने उहाँले बताउनु भयो ।
संगठनका अध्यक्ष कृष्णप्रसाद कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सडक दुर्घटनाका निस्पक्ष अध्ययन र अनुसन्धान गर्न आवश्यक भएको बताउनु भयो । उहाँले ट्राफिक नियम उल्लंघन गर्नेलाई गर्ने जरिवाना रकम अबैज्ञानिक रहेको जिकिर गर्नु भयो । उहाँले दुर्घटना महामारीको रुपमा देखिएको भन्दै त्यसको न्यूनीकरणका लागि चालकहरुले तीब्र गतिमा गाडी नचलाउन आग्रह गर्नु भयो ।