अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अबैध हातहतियार मुद्दामा सजाय र जरिवाना तोकिएका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत अर्घाखाँचीको मिति २०८० साल मंसिर २५ र उच्च अदालत तुल्सीपुर बुटवल इजलासको २०८१ साल माघ ६ गतेको फैसला बमोजिम अबैध हातहतियार मुद्दामा सजाय र जरिवाना तोकी फरार रहेका अभियुक्तलाई प्रहरीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ बाट पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेश अनुसार कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा प्युठान जिल्ला मल्लरानी गाउँपालिका–२ बस्ने वर्ष ५५ को निमबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निजले जरिवाना रु.२०० पिडित राहतकोषमा दाखिला गर्नुपर्ने र ४ महिना जेल सजाय (कैद) भुक्तान गर्नुपर्नेछ ।
घटना विवरण अनुसार २०७९ साल असोज १० गते अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–१ राजिमे भन्ने स्थानमा सोही नगरपालिका वडा नं. १ ओखट्टे बस्ने बर्ष ४० को जितेन्द्र भुसाल र बर्ष ३७ को फर्सुराम खनालले विना इजाजतको अवैध भरुवा बन्दुक थान १ साथमा लिइरहेको अवस्थामा गस्तीमा रहेको प्रहरीले उनीहरुलाई हतियार सहित पक्राउ गरेको थियो ।
प्रहरीले उक्त घटनाको अनुसन्धान गर्दा भुसाल र खनालले उक्त भरुवा बन्दुक प्युठान मल्लरानी गाउँपालिकाका निमबहादुर घर्तीबाट बाँदर तथा जङ्गली बदेल तर्साउने उद्देश्यले लिई आउंदै गरेको अवस्थामा उनीहरु पक्राउ परेको र निज निमबहादुर घर्ती तत्काल भागी फरार भएका थिए ।
