भैरहवा । जिल्ला अदालत रुपन्देहीको बिभिन्न मितिको फैसला बमोजिम बिभिन्न मुद्धामा कैद तथा सजाय भई हाल सम्म फरार भएका ७ जना अभियुक्तहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले मिति २०६७ साल मंसिर ५ गतेको अदालतको फैसला बमोजिम कुटपिट लुटपिट मुद्धामा जरिवाना फैसला भई हालसम्म फरार अभियुक्त लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ बस्ने सफि महमद मुसलमान र सोही ठाउं बस्ने इत्याज अहमद मुसलमानलाई पक्राउ गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले मिति २०६३ साल फागुन ३ गतेको फैसला बमोजिम सवारी ज्यान मुद्धामा जरिवाना फैसला भई हालसम्म फरार तिलोत्तमा नगरपालिकावडा नं.१५ बस्ने लाल बहादुर थापा र मिति २०६८ साल कार्तिक १२ गतेको फैसला बमोजिम लागु औषध मुद्धामा १ बर्ष कैद सजाय भई हालसम्म फरार तिलोत्तमा नगरपालिका वडा नं.९ बस्ने प्रकाश राईलाई पक्राउ गरेको छ ।
यसैगरी इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले मिति २०६९ साल माघ १० गतेको फैसला बमोजिम जवरजस्ति करणी मुद्धामा १५ सय जरिवाना फैसला भई हालसम्म फरार सिद्धार्थनगर नगरपालिका वडा नं.१ बस्ने सुनिल पौडेललाई पक्राउ गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले मिति २०६७ साल माघ ६ गतेको फैसला बमोजिम मानब बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्धामा जरिवाना फैसला भई हालसम्म फरार सैनामैना नगरपालिका वडा नं.११ बस्ने बिमला बि.क.लाई पक्राउ गरेको छ ।
यस्तै इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरी टोलीले मिति २०५७ साल भदौ ८ गतेको फैसला बमोजिम जालसाझी मुद्धामा जरिवाना फैसला भई हालसम्म फरार कोटहीमाई गाउँपालिका वडा नं.२ जगदम्बा प्रसाद मिश्रलाई पक्राउ गरेको छ ।
पक्राउ परेका अभियुक्तहरुलाई रुपन्देही जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।
