बुटवल । बुटवलका थप ३१ स्थानमा हाईमास्ट लाईट जडान हुने भएको छ । उज्यालो सहरको नारा दिएर यसअघि बुटवलका विभिन्न स्थानमा हाईमास्ट लाईट जडान गरेको बुटवल उपमहानगरले थप ३१ स्थानमा हाईमस्ट लाईट जडान गर्न लागेको हो ।
बुधबार बुटवलको ट्राफिक चोकमा जडान गर्ने हाईमास्ट लाईटको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र उप प्रमुख सावित्रादेवि अर्यालले सयुंक्त रुपमा सिलान्यास गर्नुभएको छ । उपमहानगरपालिकाले ट्राफिक चोकसहित मुख्य चोकहरुमा दोस्रो चरणको हाईमास्ट लाईट जडानको काम सुरु गरेको हो ।
दोस्रो चरणको हाइमास्ट लाईट जडान कार्यको शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले बुटवललाई उज्यालो, सुरक्षित र सुन्दर सहरको रूपमा विकास गर्ने योजना अनुरूप बुटवल उपमहानगरपालिकाले यस वर्ष पनि मुख्य चोकहरुमा हाईमास्ट लाईट जडानको काम सुरु गरेको बताउनुभयो ।
गत आर्थिक वर्षमा उपमहानगरपालिकाका २३ स्थानमा हाईमास्ट लाईट जडान गरिएकोमा चालु आर्थिक वर्षको पहिलो चरणमा ३१ र दोश्रो चरणमा १७ स्थानमा हाइमास्ट लाईट जडान गरिने मेयर पाण्डेयले जानकारी दिनुभयो ।
बुटवलको राजमार्ग चौराह–गोलपार्क–चिडियाखोला सडक बिस्तार कार्य सम्पन्न भई बुटवलका मुख्य चोकहरूमा हाइमास्ट लाइट जडान कार्य सकिएपछि बुटवल सांच्चिकै उज्यालो र सुरक्षित शहरको रूपमा पहिचान बनाउने प्रमुख पाण्डेले विश्वास ब्यक्त गर्नुभयो ।
हाइमास्ट लाइटसँगै बुटवल उपमहानगरपालिकाले डिजिटल विज्ञापन बोर्डस् फ्लाग मास्ट लाइट समेत जडान कार्य सुरु गरेको छ ।
डिजिटल विज्ञापन बाट उठेको रकमबाट हाइमास्ट लाइट तथा स्ट्रिट लाइटको महसुल तिर्ने योजना रहेको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख साबित्रादेवि अर्यालले बताउनुभयो ।
दोस्रो चरणको हाइमास्ट लाइट तथा डिजिटल विज्ञापन बोर्ड जडानका लागि बुटवल उपमहानगरपालिकाले ४ करोड ४३ लाख ७९ हजार ३९१ रूपैयाँमा त्रिसन्ध्या–सेफ स्टिल्स जेभिसँग सम्झौता गरेको छ । सम्झौता अनुसार २०८२ जेठ ३० गतेसम्म निर्माण कार्य सम्पन्न गरिसक्नुपर्नेछ ।