परासी । भारतबाट भन्सार छलेर ल्याएको ६ सय बोरा चिनीसहित २ जनालाई सशस्त्र प्रहरी नवलपरासी पश्चिमले नियन्त्रणमा लिएको छ ।
रूपन्देहीको भैरहवाबाट काठमाडौ जाँदै गरेको ना ८ ख १४७६ नम्बरको ट्रक बर्दघाट नगरपालिका २ चिसापानीमा खानतलासी गर्दा अवैध चिनी सहितका सामान बरामद भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश वाग्लेका अनुसार बरामद भएको सामानको बजार मुल्य ६८ लाख रुपैयाँ रहेको छ । चिनी, मोबाइलका समान सहित ७ प्रकारको समान बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । बिलबिजकमा उल्लेख भएको भन्दा फरक सामान फेला परेपछि उक्त सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा लिएका ब्यक्ति र सामानलाई आवस्यक कारबाहीका लागि महेसपुर भन्सार पठाइएको र सो सामान कहाँ र कसरी जाँदै थियो भन्नेबारे अनुसन्धान भइरहेको छ ।