भैरहवा । गृह मन्त्रालयसँगको कार्यसम्पादन सम्झौता अनुसार जिम्मेवारी पुरा गर्दै बढी अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट बनेको छ । गृह मन्त्रालय र देशका ७७ वटै जिल्ला प्रशासन कार्यालय बीच कार्यसम्पादन सम्झौता भएको थियो ।
गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारी बीच आर्थिक वर्ष २०८०/०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अंक सहित पहिलो स्थान हासिल गरेको हो ।
त्यसैगरी लुम्बिनी प्रदेशकै जिल्ला प्रशासन कार्यालय पाल्पा दोश्रो भएको छ । दोश्रो बनेको पाल्पा जिल्ला प्रशासन कार्यालयले ९७/७५ अंक ल्याएको छ भने तेश्रो बनेको जिल्ला प्रशासन कार्यालय बागलुङले ९७/२५ अंक प्राप्त गरेको छ ।
त्यस्तै चौथो स्थानमा पश्चिम रुकुम जिल्ला प्रशासन कार्यालयले क्रमशः ९७/५ ल्याएको छ भने पाँचौंमा मकवानपुर र पर्वतले ९७/३७ अंक ल्याएका छन् । पहिलो, दोस्रो, तेस्रो र चौथो चौमासिक रूपमा गरिने मूल्याङ्कनमा छैटौंमा गुल्मी जिल्ला प्रशासन कार्यालय आएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले ९७ अंक ल्याएको छ । त्यसैगरी सातौंमा तेह्रथुम, आठौंमा रोल्पा, नवौंमा सोलुखुम्बु र १० औं नम्बरमा डडेलधुराले क्रमशः ९६/८७, ९६/७५, ९६/५६ र ९६/४३ अंक ल्याएका छन् । पहिलो अंक प्राप्त गर्ने रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रहेका छन् ।
व्यक्तिहरूले अतिक्रमण गरेका सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता, जिल्ला प्रशासन कार्यालयमा अडियो नोटिस बोर्ड लागू, सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण, भारतीय पर्यटकहरूलाई सहजीकरण गर्न सीमा क्षेत्रमा एकीकृत चेकजाँच बिन्दु सञ्चालन तथा साउदी अरबमा मृत्युदण्ड पाएका जनकपुरका रामाशिस यादवको जीवन रक्षाका लागि ब्लड मनी जुटाउनेसम्मका कार्यको नेतृत्व प्रमुख जिल्ला अधिकारी अर्यालले गरेका थिए ।