बुटवल । आज साउन महिनाको तेस्रो सोमबार पशुपतिनाथ, पर्रोहा बोलवम धाम लगायत देशभरका शिवालय मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएको धार्मिक विश्वासमा व्रत बस्ने परम्परा छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।
दर्शनार्थीहरूको भीडलाई मध्यनजर गरी काठमाडौँको पशुपतिनाथमा आज बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोलिएका छन् ।
पशुपति क्षेत्र विकास कोषका अनुसार आज पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलास्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
साउनमा बोलबम यात्रा गरी विभिन्न पवित्र नदि तथा तलाउवाट शुद्ध जल ल्याएर शिवालय मन्दिरहरुमा चढाउने चलन छ ।
साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस अवसरमा विशेषगरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ । साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजाआराधना गर्ने गर्छन् । साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य बर पाउने धार्मिक विश्वास छ । साउन महिनामा अब एउटा सोमबार मात्र बाँकी छ ।