काठमाडौं । समूह चरणको अन्तिम खेलमा नेपाललाई २१ रनले पराजित गर्दै बंगलादेश आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–८ मा प्रवेश गरेको छ । सोमबार वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो ।
पराजित भएसँगै नेपाल एक अंक जोड्दै विश्वकपबाट बाहिरिएको छ भने जितसँगै बङ्गलादेश सुपर ८ मा पुगेको छ ।
नेपालका लागि कुशल मल्लले सर्वाधिक २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २५ रन बनाए भने आशिफ शेखले १७ रनको पारी खेले। त्यसबाहेक नेपालका कुनैपनि खेलाडीले दोहोरो अङ्क समेत जोड्न सकेनन् ।
नेपालका अनिल साह, गुल्शन झा, सोमपाल कामी र अविनाश बोहरा शून्य रनमै आउट भए भने सन्दीप जोरा र कप्तान रोहित पौडेलले समान १÷१ रन बनाएर पभेलियन फर्के । कुशल भुर्तेल भने ४ रन बनाएर आउट भए ।
नेपाललाई जितबाट रोक्नका लागि बङ्गलादेशका तान्जिम हसन शाकिबले सर्वाधिक ४ विकेट लिए भने मुस्ताफिजुर रहमानले ३ विकेट लिए । शाकिब अल हसनले २ विकेट लिँदा तास्किन अहमदले १ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको बङ्गलादेश निर्धारित ओभरको ३ बल बाँकी छँदै अलआउट हुँदै १०६ रन बनायो ।
सुरुदेखि नै दबाबमा रहेको बङ्गलादेशका कुनैपनि खेलाडीले २० रन समेत कटाउन सकेनन् । ओपनर ब्याट्सम्यान तान्जिद हसन शून्य रनमै आउट हुँदा शाकिब अल हसनले १७ रन जोडे । महमुदुल्लाह र रिसज होसेनले समान १३ र १३ रन बनाउँदा जाकिर अलि र तास्किन अहमदले समान १२\१२ रन बनाए । कप्तान नजमुल होसेन सान्टो ४ रनमा आउट हुँदा लिटन दास १० र तोहिद हृदोय ९ रनमा आउट भए ।
बङ्गलादेशलाई १०६ रनमा समेट्न नेपालका सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले समान २\२ विकेट हात पारे ।