बुटवल । चीनको सिमाना कोरोला नाकासँगको धार्मिक पर्यटनको प्रवद्र्धन गर्न र लुम्बिनी मुक्तिनाथ धार्मिक मार्गको प्रचार गर्न बुटवलबाट १ सय बढी धार्मिक पर्यटकहरु मुक्तिनाथ दर्शनका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका धार्मिक पर्यटकहरुलाई सोमबार (आज) एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले टिका लगाएर बिदाई गर्नुभयो ।
बुटवल १२ स्थित स्वामिनारायण मुक्तिनाथ धामदेखि कालिगण्डकीका विभिन्न धार्मिक पर्यटकीय स्थलहरुको अवलोकन र दर्शन सहित पवित्र धार्मिक पर्यटकिय स्थल मुस्ताङको मुक्तिनाथ दर्शन गर्न बुटवलबाट १ सय ५० जनाको टोलि मुक्तिनाथ प्रस्थान गरेको हो । मुक्तिनाथ धामका गुरु स्वामी लोकानन्द जी महाराजको नेतृत्वमा धार्मिक पर्यटकीय यात्रा शुरु गरिएको छ ।
धार्मिक पर्यटकीय यात्रामा निस्किएको टोलीलाई सोमबार विहान विदाई गर्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई उत्कृष्ट विश्रामस्थल बनाउने, भारतका विभिन्न स्थलहरूबाट मुक्तिनाथ भ्रमणका लागि प्रचारप्रसार गर्ने र बुटवललाई विश्रामस्थलको रुपमा विकास गर्ने धार्मिक पर्यटकीय यात्राको उद्देश्य रहेको बताउनु भयो ।
यो यात्राले बुटवलमा आउने पर्यटकको संख्या वृद्धि गर्ने, बुटवलको मुक्तिनाथधाम र अरू धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको प्रवद्र्धनमा मद्धत गर्ने प्रमुख पाण्डेले विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कोरला नाकादेखि लुम्बिनीको यात्रा गर्न नेपाली सहित चिनीया पर्यटकलाई समेत प्रोत्साहित गर्ने उद्देश्य रहेको उहाँको भनाई छ ।
