भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा ३ लाख वढिको अवैध सामान बरामद गरेको छ ।
प्रहरीले ३ लाख ४८ हजार २५० रुपैयाँ बरावरको सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार तथा पशु क्वारेन्टाईन चेक पोष्ट कार्यालय बेलहियामा बुझाएको छ ।
प्रहरी चौकी पिप्रहवाबाट खटिएको प्रहरी टोलीले सोमबार रोहिणी गाउँपालिका वडा नं.४ कोटिहवाबाट लु ५८ प ९३४२ नं.को मोटरसाइकलमा ल्याउंदै गरेको अवस्थामा ६० पिस बोइलर कुखुरा मोटरसाइकल सहित बरामद गरेको छ ।
यस्तै प्रहरी बिट भैरहवा बसपार्कबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका वडा नं. ३ भैरहवा बसपार्कबाट बेवारिसे अबस्थामा राखिएको कुर्ता सुरुवाल ६७ पिस र मोजा १७९० पिस तथा अस्थायी प्रहरी पोष्ट लखनचोकबाट खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका वडा नं.०१ लखनचोकबाट अबैधरुपमा भारतबाट भन्सार छली ल्याउदै गरेको अवस्थामा कुर्था सुरुवाल ८५ पिस र साडी १७ पिस बरामद गरेको छ ।