बुटवल । सुशासनका लागि मिडिया र स्थानीय तह एक अर्काका सहयोगी बनेर अघि बढ्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले मिडियाले आलोचनात्मक चेत भने गुमाउन नहुनेमा जोड दिएका छन् ।
बुद्ध सामुदायिक टेलिभिजनको १५ औँ वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित सुशासनका लागि स्थानीय तह र मिडियाको भूमिका विषयक गोष्ठीमा बोल्ने बक्ताहरुले पालिकालाइ सुशासनयुक्त बनाउन मिडियाको भूमिका अहम हुने धारणा ब्यक्त गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगर सबैको साझा बन्नेतर्फ उन्मुख रहेको बताउनु भयो ।
प्रमुख पाण्डेयले सुशासनको व्याख्या फरक फरक तरिकाले हुने गरेको बताउँदै सबैको साझा बन्न सक्नु पनि सुशासनयुक्त भएको दाबी गर्नुभयो । बुटवलका हरेक गतिविधिमा जनसहभागिता निकै उत्कृष्ट रहँदै आएको बताउँदै प्रमुख पाण्डेले बुटवल सुनाउन र हेर्न लायक सहरको रूपमा रहेको उल्लेख गर्नुभयो । सञ्चार क्षेत्रमा विज्ञापन वितरणमा समेत साझा प्रयास गरेको भन्दै पाण्डेले मिडिया हाउसले पनि दोहोरो संवादको अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
पहिले पहिलेका वर्षहरूमा बुटवलमा भएका काम भन्दा निकै राम्रा कामहरू भएको उल्लेख गर्दै प्रमुख पाण्डेले अघिल्लो वर्षमा संस्थागत रूपमा दिइएको बजेट नदेखि व्यक्तिगत रूपमा माग्दा समस्या भएको बताउनु भयो । समस्याको बारेमा सबैले कुरा उठाउने र गालिगर्ने भए पनि समाधानको बाटो कसैले नदेखाउने बताउँदै समाधानको बाटो सहित आएमा बुटवल हरेक समस्या जरैबाट फाल्न तयार रहेको उहांले बताउनु भयो ।
लुम्बिनी प्रदेश सरकारका मुख्य महान्यायाधिवक्ता डा. बुद्ध बहादुर थापाले प्रदेश सरकारको औचित्य बाहिर हल्लामा आएजस्तो नभएको बताउनुभयो । भित्र केही कमी कमजोरीहरू रहे पनि सुधार गर्दै मिडियामैत्री बनेर जनतालाई सहज सेवा दिने प्रयास गरिरहेको उल्लेख गर्नुभयो । जनप्रतिनिधि र कर्मचारीका बिचमा मेल नहुँदा धेरै कुरामा समस्या आएको बताउंदै व्यवहारिक तरिकाले काम गर्ने कर्मचारीलाई ढुक्कले काम गर्ने अवस्था सिर्जना गर्न सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा रोहिणी गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवले रोहिणीमा आफू आएदेखि मिडिया मैत्री रहेको बताउँदै जनतालाई सहज सेवा दिने कुरामा पछाडी नहट्ने बताउनु भयो ।
शुद्धोदन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पोख्रेलले अहिले प्रचलित समसामयिक कानुनहरू परिमार्जन गर्दै जानुपर्ने बताउदै स्थानीय तहमा रहेका कार्यपालिका सदस्यको भूमिका बढाएर जिम्मेवारी दिनुपर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले सञ्चार माध्यम र सामाजिक सञ्जाल बिचको फरक नबुझ्दा खास पत्रकार समस्यामा परेको बताउनु भयो । सञ्चार माध्यमले आलोचना गर्ने भएकोले राम्रो नमान्ने प्रचलन कायम रहेको अवस्थामा आलोचनाले संस्था वा व्यक्ति सुदृढ हुने कुरामा विश्वास राख्न आग्रह गर्नुभयो ।
कार्यत्रममा कार्यपत्र प्रस्तुत गर्दै लेखक मनिकर कार्कीले स्थानीय तहले सेवा प्रबाह,न्याय सम्पादन र बिधायिकी कार्यमा सहि भूमिका खेल्न नसेकेको उल्लेख गर्नुभयो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै लेखक युवराज कँडेलले स्थानीय सरकारले गलत समाचार ढाक्नकै लागि प्रेस सल्लाहकार राख्ने गरेको भन्दै यसले पत्रकारितामा ठेस पुगेको बताउनु भयो । उहांले कानुन निर्माणमा स्थानीय सरकार चुकेको र कपि पेष्ट बढि भएको स्मरण गराउनु भयो । अर्का टिप्पणिकर्ता उच्च अदालत बुटवल बारका अध्यक्ष अधिवक्ता कैलास ज्ञवालीले मिडियाले आलोचनात्मक समाचार दिदा स्थानीय सरकार झन् बलियो हुने बताउनु भयो ।
प्रकाशन तथा प्रसारण संघ लुम्बिनी अध्यक्ष नवराज कुवंरले स्थानीय तहलाई आफ्ना नजिकका व्यक्ति पोस्ने काम गरेको भनने आरोप लाग्ने गरेको बताउँदै सबैको साझा बन्न सक्नुपर्नेमा जोड दिनुभयो । राज्य टेलिभिजनका कार्यकारी प्रमुख विष्णु भुसालले मिडिया बचाउनको लागि बास्केट फन्ड स्थापना गरी रकम सहयोग गर्नुपर्ने बताउनुृ भयो ।
लुम्बिनी टेलिभिजनका महासचिव दिनेश पाण्डेले सुशासनका कुरा भाषणमा मात्र सीमित हुने गरेको बताउँदै सडकमा हुँदा उठाएका कुरा सत्तामा पुगेपछि बिर्सन नहुने बताउनु भयो ।
राष्ट्रिय टेलिभिजन प्रकाशक संघ लुम्बिनी अध्यक्ष नरेश केसीले स्थानीय तहमा भएका प्रेस सल्लाहकारले सल्लाहकारको भूमिका भन्दा समाचार पठाउने र विज्ञापन वितरण गर्ने गरेको आरोप लगाउनु भयो ।
बरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईँले अब संघीयताको प्रादेशिक तहलाई हटाएर सुशासन कायम गर्नुपर्ने बताउनु भयो ।
शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १५ औँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तरगत बुधवार मुख्य समारोहको आयोजना र तिज विशेष कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सवको समापन हुने टेलिभिजनका कार्यकारी प्रमुख विक्रम खड्काले जानकारी दिनुभयो ।
टेलिभिजनले सप्ताहव्यापी कार्यक्रम अन्तरगत उद्घाटन सत्र, सरसफाइ, छाडा चौपाया व्यवस्थापनको लागि सरोकारवाला निकायका बिचमा छलफल र आज सुशासनका लागि स्थानीय तह र मिडियाको भूमिका विषयक गोष्ठी आयोजना गरेको हो ।
टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीको अध्यक्षतामा झएको कार्यक्रमको सञ्चालन कार्यक्रम प्रमुख खेमराज रेग्मीले गर्नुभएको थियो ।