भैरहवा । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले माओवादीका कारण मुलुकमा धर्मनिरपेक्षता आएको भन्ने भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।
धर्मनिरपेक्षता संसदबाट सर्वसम्मतिले पारित भएकाले माओवादीका कारण आएको भन्ने भ्रममा नपर्न र त्यस्तो भ्रममा नहिंड्न नेता सिटौलाले कांग्रेस नेता–कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व महामन्त्री सिटौलाले ७ दलको सहमतिले माओवादीसँग १२ बुँदे सम्झौता गरिएको र १२ बुँदाको निष्कर्ष माओवादी हतियार छाडेर शान्ति प्रक्रियामा आउनुपर्छ र लोकतन्त्रको मूल्य मान्यता मान्नुपर्छ भन्ने रहेको उल्लेख गर्नुभयो ।
नेता सिटौलाले तीनै तहका सरकारको अहिले मूल्यांकन गरिहाल्ने बेला भइनसकेको धारणा व्यक्त गर्नुभयो । ‘स्थानीय सरकार दोस्रो बजेटमा गएका छन्, केन्द्र सरकार भर्खर पहिलो बजेटमा गएको छ, यसलाई प्रारम्भिक अवस्था मान्नुपर्छ ।’ नेता सिटौलाले भन्नुभयो । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि संविधान बमोजिम तीनै तहका सरकारले एक कार्यकाल पूरा गरिसकेको उहांको भनाइ छ ।
कांग्रेस कांग्रेसका लागि मात्र नभइ देश र जनताको अधिकारका लागि जन्मेको पार्टी भएकाले कांग्रेस सबै धर्म, संस्कृति, भाषा र सबै क्षेत्रको आस्थाको केन्द्र भएको दावी गर्नुभयो ।
नेता सिटौलाले आफ्नो विचारमा बालकृष्ण खाँणको कुनै दोष नरहेको बताउनुभयो । ‘मेरो आफ्नै विचारमा खाँणजीको कुनै गल्ती छैन । यो कुरा मैले पार्टीको पदाधिकारीबीच पनि राखेको छु । म कानूनको विद्यार्थी पनि हुँ । मेरो विचारमा खाणजी चाँडै आउनुहुन्छ । विचाराधिन मुद्दाका बारेमा म त्यति बोल्दिन ।’ उहांले भन्नुभयो ।
कार्यक्रममा बोल्ने कांग्रेस नेता–कार्यकर्ताहरुले सरकारमा कांग्रेस भए पनि अनुभुति हुन नसकेको, कांग्रेस नेता कार्यकर्तामाथि आक्रमण बढेको धारणा राखेका थिए ।
कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीका सभापति सुशील गुरुङको सभापतित्व, कोषाध्यक्ष कृष्ण खनालको स्वागत तथा सचिव एवं प्रवक्ता लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।
