बुटवल । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापा दोस्रो पटक नियुक्त हुनुभएको छ ।
सभामुख बाबुराम गौतमले आफ्नो पदबाट राजीनामा दिइ सरकार गठनमा दाबी पेस भएसँगै गठबन्धनबाट कांग्रेसका उद्धव थापा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएको हो ।
सभामुखबाट राजीनामा दिइ गौतम फेरि राजनीतिक दलको सांसदको हैसियतमा आएपछि गठबन्धनले गौतमको संख्यालाई समेत सामेल गराइ सरकार गठनमा दाबी पेस गरेको हो ।
मंगलबार प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम चार दलको दाबीअनुरुप थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
यो धारामा दुई वा दुईभन्दा बढी दलले बहुमत पुर्याएर सरकार गठन गर्न दाबी पेस गर्नसक्ने प्रावधान छ । नेपाली कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा) १ सांसदको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
गत असार २१ गते गठबन्धनको सरकार बनाउन सभामुख बाबुराम गौतमको हस्ताक्षरसहित दाबी पेस गरिएको थियो । त्यसविरुद्ध परेको मुद्दाको फैसला गर्दै सर्वोच्च अदालतले समग्र प्रक्रियालाई नै असंवैधानिक करार दिँदै बदर गरिदिएपछि थापा नेतृत्वको सरकार ढलेको थियो ।
यसअघि एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीको रिटमा सुनुवाइ गर्दै थापा नेतृत्वको सरकारलाई महत्वपूर्ण निर्णयहरू नगर्न आदेश दिएको थियो ।
