बुटवल, १६ साउन । हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म मनाइने स्तनपान सप्ताह आजदेखि सुरु भएको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन शुरु गरिएको हो ।
अझै पनि महिलामा चेतनाको कमीले गर्दा कम दूध आउँदैमा नचुसाई अरु सुत्केरीलाई चुसाउन लगाउने, दिनमा ३ वा ४ पटकमात्र स्तनपान गराउने, दूध कम आए बोतलको दूूध वा अन्य लेक्टोजिनजस्ता कृत्रिम तयारी दुग्ध पदार्थ ख्वाउने चलन बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।
बच्चालाई सुरक्षित तरिकाले स्तनपान गराउन, स्तनपानसम्बन्धी जनचेतना फैलाउन, शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने संख्या बढाउन तथा स्तनपान नगराउनाले आमा तथा शिशुमा हुनसक्ने समस्याहरूको बारेमा जनसमुदायलाई सचेत गराउनको लागि विश्वभर विभिन्न कार्यक्रमहरू गरी हरेक वर्ष अगष्टको पहिलो साता (१(७) विश्व स्तनपान सप्ताह मनाइदै आएको छ।
बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु उसको नैसर्गिक अधिकार हो । शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्वहरू आमाको दुधमा नै पर्याप्त मात्रामा पाइने हुँदा जन्मेको ६ महिनासम्म निरन्तर आमाको दुधमात्र खुवाए पुग्दछ । शिशु शारीरिक तथा मानसिक विकासको लागि चाहिने सम्पूर्ण तत्वहरू पाइने हुँदा स्तनपानलाई पहिलो खोपको रूपमा पनि लिइन्छ। शिशु जन्मेको जति सक्दो छिटो वा १ घण्टा भित्रैमा स्तनपान गराई सक्नुपर्ने हुन्छ । कतिपय ठाउँहरू तथा समुदायमा अझै पनि जनचेतनाको कमिले गर्दा शिशु जन्मने वित्तिकै आमाको दुध खुवाउनुको सट्टामा मह, चिनी, घिउ आदि जस्ता खानेकुराहरू खुवाउने चलन रहेको छ । यस्ता किसिमका खानेकुराहरू खुवाउनु शिशुको स्वास्थ्यको लागि राम्रो होइन । आमाको सुरुको विगौतीदुध फाल्ने चलन पनि रहेको छ । सुरुमा आउने आमाको दुधमा अझ धेरै किसिमका पौष्टिक आहारहरू पाइने हुँदा विगौतीदुध नवशिशुलाई अनिवार्य रूपमा खुवाउन जरुरी छ । ६ महिनासम्म शिशुलाई आमाको दुधमात्र खुवाई सकेपछि शिशुको शारीरिक तथा बौद्धिक विकासको लागि थप आहार पनि आवश्यक पर्ने हुन्छ । शिशु ६ महिना पुगिसकेपछि २ वर्षसम्म निरन्तर अरु आहाराहरूको साथमा आमाको दुध पनि खुवाउनु जरुरी छ । यसले गर्दा बच्चाको शारीरिक तथा मानसिक विकास छिटो हुनुमा मद्दत पुग्दछ ।
तथ्याड्ढ हेर्ने हो भने राम्रो स्तनपान गराउँदा करिब १३ प्रतिशत बालशिशु मृत्युदर घटाउन सकिन्छ । यसै गरी राम्रो पौष्टिक खानेकुराहरू बाट करिब ६ प्रतिशत नवशिशु मृत्युदर घटाउन सकिन्छ ।
नेपालमा आमाको दूधको सट्टामा बट्टाको दूध वा अन्य दुग्ध पदार्थ बिक्रीवितरण गर्न नपाउने कानुन वनेको भएपनि तर त्यसको कार्यान्वयन भने हुन सकेको छैन ।
