काठमाडौं, २८ असोज । रुपन्देही निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेज विरुद्ध सर्वोच्च अदालतमा दायर गर्नुभएको रिटको सुनुवाइ स्थगित भएको छ ।
निवेदक गुरुङका कानून व्यवसायीहरुले आज पेशी तोकिएको रिटको सुनुवाइ स्थगित गराएका हुन् ।
रिटको पेशी न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको थियो । सत्ता गठबन्धनको तर्फबाट रुपन्देही २ मा उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका गुरुङको बैंकिङ कसुरमा कालोसूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सूचना निकालेर उम्मेदवारी खारेज गरेको थियो ।
अदालतमा विचाराधीन भएको मुद्दालाई आधार बनाएर प्रक्रिया नै पूरा नगरी उम्मेदवारी खारेज भएको भन्दै गुरुङले बिहीबार सर्वोच्च अदालतमा उजुरी दिनुभएको थियो ।