बुटवल, १० भदौ । रोटरी क्लव अफ बुटवल र रोट¥याक्ट क्लव अफ बुटवलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गरनगरमा रहेको गुल्मेली सम्पर्क समाज मातहत श्रृंगेश्वर धाम परिसरमा अवस्थित ज्येष्ठ नागरिक मिलन केन्द्रलाई भान्सामा प्रयोग हुने सामग्री हस्तान्तरण गरेका छन् ।
शुक्रबार एक कार्यक्रमका बीच दुईवटा क्लवले संयुक्त रुपमा तिलोत्तमाको श्रृंगेश्वर धाम परिसरमा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्रमै पुगेर किचन सामग्री हस्तान्तरण गरेका हुन् । दुवै क्लवका अध्यक्ष तथा पदाधिकारी र सदस्यहरुले ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा केन्द्रका अध्यक्ष पाण्डेले क्लवले प्रदान गरेको किचन सामग्रीले केन्द्रमा रहेका ज्येष्ठ नागरिकलाई फाइदा पुग्ने बताए । उनले यस्ता मानवीय र रचनात्मक कार्यलाई आगामी दिनमा पनि जारी राख्न क्लवलाई आग्रह गरे ।
रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाले ज्येष्ठ नागरिक मिलन केन्द्रलाई किचन सामग्री प्रदान गर्न पाउँदा खुशी लागेको बताए । उनले ज्येष्ठ नागरिकहरुको सुखदुःखमा क्लव सधै साथमा रहेको बताउंदै रोटरी क्लवका निवर्तमान अध्यक्ष तथा गुल्मेली सम्पर्क समाजका अध्यक्ष नारायण प्रसाद पन्थको पहलमा दरवारमार्ग काठमाण्डौले सौजन्य गरेको किचनका लागि अति उपयुक्त सामाग्री केन्द्रलाई हस्तान्तरण गरिएको बताए ।
कार्यक्रममा रोटरीयनहरु कृष्ण पराजुली, जिवकान्त काफ्ले, रोट¥याक्ट क्लव अफ बुटवलका अध्यक्ष नविन बन्जाडेलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
रोटरी बाटिकामा रक्तचन्दन र रुद्राक्षका विरुवा रोपण
रोटरी क्लव अफ बुटवल र रोट¥याक्ट क्लव अफ बुटवलले संयुक्तरुपमा शुक्रबार वृक्षारोपण गरेका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, डिङ्गरनगरस्थित श्रृंगेश्वर धाम परिसरमा रहेको रोटरी बाटिकामा दुई क्लवले संयुक्तरुपमा वृक्षारोपण गरेका हुन् । रोटरीयन र रोट¥याक्टर क्लवका पदाधिकारी तथा सदस्यहरु सहभागि भएर धार्मिक तथा वातावरणीय महत्वका वृक्ष रोपण गरिएको रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाले जानकारी दिए ।
दुबै क्लवको आयोजना गुल्मेली सम्पर्क समाज रुपन्देही मातहत रहेको श्रृंगेश्वर धाम तथा ज्येष्ठ नागरिक मिलन केन्द्र परिसरमा रहेको रोटरी बाटिकामा रक्तचन्दन, रुद्राक्षलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।
सो अवसरमा रोटरी क्लव अफ बुटवलका अध्यक्ष पियाले रोपिएका बिरुवाको संरक्षण र मलजल गर्न श्रृंगेश्वर धामका सञ्चालकहरुलाई आग्रह गरे । उनले रोटरी बाटिकामा क्लवले अन्य प्रजातिका विरुवा समेत लागाउने र नमुना पार्कको रुपमा विकास गर्ने बताए ।
कार्यक्रममा रोट¥याक्ट क्लव अफ बुटवलका अध्यक्ष नविनराज बन्जाडेले वातावरण संरक्षण तथा अन्य सामाजिक अभियानमा दुबै क्लव सहकार्य र एकता गरेर अगाडी बढ्ने बताए । रोटरी क्लव अफ बुटवलका कोषाध्यक्ष जिवकान्त काफ्लेको संचालनमा भएको कार्यक्रममा रोटरी तथा रोट¥याक्ट क्लवका अध्यक्षहरु तथा बोर्ड सदस्यहरुले रोटरी वाटिकालाई नमुना हरियाली पार्कका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका थिए ।