गुल्मी, २७ साउन । गुल्मीका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । जनैपूर्णिमा मनाउन पाल्पाको रैनादेवि छहरा गाउँपालिका–१ साउनेटोलस्थित मामा घरमा गएका गुल्मीको छत्रकोट गाउँपालिका–३ चोयगाका १४ बर्षीय मनोज रेश्मीको गएराती मृत्यु भएको हो ।
बिहीबार साँझ मामाघर नजिकै रहेको डमराईपोखरीमा पौैडी खेल्न लागेको बेला मनोज डुबेर अचेत अवस्थामा फेला परेका थिए । उनलाई स्थानीय सर्देवा प्रहरी चौकीका प्रहरीले उद्धार गरि उपचारका लागि पाल्पा मिशन अस्पतालमा लगिएकोमा बिहीबारराती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) बीरेन्द्र थापाले जानकारी गराउनु भयो ।
गुल्मी चोयगास्थित कृष्णबहादुर रेश्मीका छोरा मनोज साउन १८ गते मामाघर गएका र जनैपूर्णिमा मनाउन मामा घरमा बसेको प्रहरीले जनाएको छ ।