बुटवल, २२ साउन । बुटवल उपमहानगरपालिकामा बालबालिका लक्षित कोभिड १९ विरुद्धको दोश्रो मात्रा खोप शुरु भएको छ ।
५ वर्ष उमेर पूरा भई १२ वर्ष नपुगेका(५–१२ उमेर समूह) बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोपको दोश्रो मात्रा लगाउन शुरु भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए । उनका अनुसार आइतबारदेखि बुटवलका १०३ वटा विद्यालयमा खोप कार्यक्रम सञ्चालन भएको छ ।
बुटवलका सामुदायिक र संस्थागत विद्यालयहरुमा बुटवल उपमहानगरपालिकाबाट खटिएका स्वास्थ्यकर्मीहरुको टोलीले बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन गरेका छन् । विद्यालयहरुमा सञ्चालन भएको खोप कार्यक्रममा यसअघि खोप लगाएका बालबालिकाहरुलाई दोश्रो मात्रा र पहिलो खोप लगाउन छुट भएका बालबालिकाहरुलाई पहिलो मात्रा खोप लगाइने छ ।
बुटवल उपमहानगरपालिकाका खोप संयोजक कल्पना भुसालका अनुसार साउन २२ गते आइतबारदेखि साउन ३१ गते मंगलबारसम्म खोप अभियान सञ्चालन हुनेछ । खोप संयोजक भुसालका अनुसार खोप कार्यक्रमकालागि सम्बन्धित विद्यालयहरुलाई पूर्वजानकारी दिइसकेको र सोहीअनुसार खोप अभियान सञ्चालन भएको छ ।