बुटवल, ३१ असार । नेपाली कांग्रेसबाट निर्वाचित रुपन्देहीका जनप्रतिनिधिहरुले स्थानीय तहबाट भएका गलत कुराहरुको ढाकछोप नगर्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।
नेपाल प्रेस युनियन रुपन्देहीले शुक्रबार आयोजना गरेको अन्तरसंवाद तथा बधाई कार्यक्रममा सहभागि पालिका प्रमुख तथा उपप्रमुखहरुले आफूहरुबाट अनियमितता तथा भ्रष्टाचार नहुने विश्वास दिलाउंदै काम गर्ने क्रममा कहि कतै भूलवस केही कमिकम्जोरी भए सञ्चारमाध्यमबाट आलोचना गरिदिन आग्रह गरे ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका मेयर तथा कांग्रेस जिल्ला सभापति रामकृष्ण खांणले आफूहरु पार्टीबाट निर्वाचित भएर आएपनि साझा जनप्रतिनिधि भएको भन्दै जनताकै स्वार्थमा काम गर्ने बताउनुभयो । उहाँले पालिकामा कानून विपरितका कुनै काम नगर्ने भन्दै केही कमिकम्जोरी भएमा तथ्यमा आधारित रहेर आलोचना गर्न आग्रह गर्नुभयो ।
सियारी गाउँपलिकाका अध्यक्ष तथा कांग्रेस जिल्ला उपसभापति थानेश्वर घिमिरेले आफ्नो पालिकाले गरेका गलत भए आलोचना गर्न र राम्रा कामको पनि समाचार लेखेर प्रोत्साहन गर्न आग्रह गर्नुभयो ।
बुटवल उपमहानगरपालिका मेयर तथा कांग्रेस बुटवल नगरसभापति खेलराज पाण्डेले बुटवलको विकास र समस्यामा आफूले निरन्तर चासो दिएको बताउनुभयो । उहाँले संघिय सरकारबाट हुने सडक विस्तार, लक्ष्मीनगरको पहिरो नियन्त्रणका लागि झकझकाउने काम गरेको भन्दै यसमा साथ दिन पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
सैनामैना नगरपालिकाका मेयर फणिन्द्र शर्माले जनप्रतिनिधि भइसकेपछि आफूहरुका गलत कुराहरुको ढाकछोप नगर्न आग्रह गर्दै कमिकम्जोरी औल्याउँदा आँफूलाई काम गर्न सहज हुने धारणा राख्नुभयो ।
सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँले आँफू सहि नियतले काम गर्ने र बाधा अवरोध आए नझुक्ने दाबी गर्नुभयो । सुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु बस्यालले आफ्ना पालिकामा लुकेर रहेका समस्याहरुको पनि पहिचान गरेर समाचार बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागी पत्रकारहरुले सुचना सहज तरिकाले उपलब्ध गराउन, सञ्चारमाध्यम तथा सञ्चारकर्मीको समस्यालाई ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, जिल्ला अध्यक्ष रामराज पोखरेल, प्रेस युनियनका सल्लाकार माधव नेपाल, खिमानन्द भट्टराई, अग्रज पत्रकार विष्णु भुसाल, दामोदर खनाल, यमलाल भुसाल, भुनव जिसी, सुदिप भण्डारी, मिना ढकाल, राम भण्डारीलगायतले बोल्दै पालिकाबाट गलत काम भएमा आलोचना गरेर कलम चलाउनु सञ्चारकर्मीको कर्तव्य भएको भन्दै राम्रा काम भए प्रसंसाका समाचार लेख्ने बताउनुभएको थियो ।
नेपाल प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसालको सभापतित्व, उपसभापति कविन्द्र नेपालको सञ्चालन तथा कार्यक्रम संयोजक कमला पाण्डेको स्वागतमा कार्यक्रम भएको थियो ।
